युवाहरुको सक्रियता नहुँदा मुलुक पछाडि : उपप्रमुख शाह

सफल खबर संवाददाता

शनिबार, ३० असार २०७५, १७ : ०७
युवाहरुको सक्रियता नहुँदा मुलुक पछाडि : उपप्रमुख शाह

चितवन । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले युवाहरुको सक्रियता नहुँदा मुलुक पछाडि परेको बताउनु भएको छ ।
सेभ द माइन्ड नेपाल संस्थाले शनिवार भरतपुरमा आयोजना गरेको विकास निर्माणमा युवा सहभागिता कार्यक्रमममा बोल्दै उपप्रमुख शाहले देशमा दक्ष युवा उत्पादन गरी विकास निर्माणमा सहभागी गराउन आवश्यक रहेको बताउनु भयो ।

दक्ष जनशक्ति विदेश पलायन भइरहेको र भएका युवाहरुपनि राजनिती लगायत अन्य क्षेत्रहरुमा सक्रिय रहेकोले विदेशको सीप स्वदेशमै उपयोग गर्नुपर्ने बताउनु भयो । जनतालाई विकासको आभास हुनेगरी काम हुन नसकेको भन्दै महानगरले ३ क्षेत्रमा विभाजित गरी विकास निर्माणका काम गर्न लागेकाले यसमा युवाहरुको सक्रिय भूमिका रहनु पर्ने उहांँको भनाई थियो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक शुशिलसिंह राठोरले शान्ति सुरक्षा विना विकास सम्भव नहुने भन्दै उहांँले विगतका दिनमा राजनितीक गतिरोध , चन्दा आतंक र व्यक्तिगत स्वार्थका कारण विकास निर्माण नभएको औंल्याउनु भयो । उहांँले अबका युवा उत्पादनशील, सिर्जनशील काममा अग्रसर हुनुपर्ने बताउनु भयो । विकास निर्माण र देशलाई समृद्धि बनाउन युवाहरुले रचनात्मक सहयोग गर्नुपर्ने उहांँको भनाई थियो ।

शुभकामना मन्तव्य व्यक्त गर्दै विरेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख थानेश्वर सापकोटाले आर्थिक विकास र समृद्धिलाई उचाइमा पुरयाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । युवाहरुलाई विदेश पलायनबाट रोक्नुपर्ने भन्दै उहांँले उर्जाशील श्रोत साधनमा युवाहरुलाई नीतिगत रुपमा सहभागी गराउनुपर्ने बताउनु भयो ।
संस्थाकी अध्यक्ष प्रमिला भूषालले युवाहरुको दृष्टिकोण र कार्ययोजनालाई अघि सारेर स्थानिय सरकारले सम्बोधन गर्दै उनीहरुको भावना वमोजिम काम गर्नु आवश्यक रहेको बताउनु भयो । शिक्षित वेरोजगार आजको समस्या रहेको भन्दै उहांँले युवाहरुलाई अवसर दिनु राज्यको कर्तव्य भएको बताउनु भयो । युवाहरु विना समृद्धि र विकास संभव नहुने उहांँको तर्क थियो ।

विद्यार्थीहरुको अन्तरक्रृयात्मक कार्यक्रममा सहभागी विद्यार्थीहरुले युवाहरुलाई देशमै रोजगारको ग्यारेन्टी गर्नुपर्ने, आधुनिक कृषि प्रणालीमा युवाहरुलाई सक्रिय बनाउनुपर्ने र  सरकारी निकायमा भएको राजनितीक भर्तीकेन्द्रको अन्त्य गरिनुपर्ने लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ भरतपुर युथका निर्वतमान अध्यक्ष सुरज पाठक,बिरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख गोविन्द सापकोटा र सेभ द माइन्ड नेपालका सलिन सुवेदीले मन्तव्य दिएका थिए । प्रमिला भूषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन गोपाल दराइले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस