भरतपुर महानगरको प्रथामिकतामा सीपसहित स्वरोजगार : प्रमुख दाहाल

सफल खबर संवाददाता

शनिबार, ३० असार २०७५, १६ : ४७
भरतपुर महानगरको प्रथामिकतामा सीपसहित स्वरोजगार : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सीप विकास गर्दै आयआर्जनमा लाग्ने कार्यक्रमहरुलाई महानगरले सधैँ प्राथमिकतामा राख्ने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ ले शनिबार शरदपुरमा आयोजना गरेको विभिन्न बिधामा ब्यावसायिक तालिम लिएकाहरूलाई प्रमाणपत्र तथा उपकरण वितरण कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताउनु भएको हो ।
महानगर प्रमुख दाहालले महानगरले मेयरसँग महिला कार्यक्रम सञ्चालन गरेर महिला सशक्तिकरणमार्फत सीपसहित स्वरोजगार बनाउने नीति लिएको बताउनु भयो । सीप सिकौँ आत्मनिर्भर बनौँ भन्ने नारासाथ आयोजित कार्यक्रममा महानगर प्रमुख दाहालले  प्रमाण पत्र तथा उपकरण वितरण गर्नु भएको थियो । सीप सिकेर पुरस्कार, प्रमाणपत्र र सामग्री पाएका महिलाहरूलाई यसको अधिकतम उपयोग गरी सहज जीवनयापन गर्न प्रमुख दाहालले आग्रह गर्नुभयो ।


महानगर प्रमुख दाहालले १५ जना आदिवासी, दलित, जनजाति तथा असहाय महिलालाई सिलाई मेसिन हस्तान्तरण गर्नु भएको थियो । चुरा, कुसन, गुडिया बनाउने, पाठेघरको क्यान्सर परीक्षण तथा सचेतना लगायतका कार्यक्रममा सहभगी भएकाहरूलाई पुरस्कार तथा सम्मान गरिएको थियो । महानगरले वडामा रहेका १५ जना अपाङ्गता भएकाहरूलाई ह्वीलचियर, १५ जना जेहेनदार र गरीब बिद्यार्थीलाई स्टेशनरी र पोशाक वितरण गरिएको थियो । 

भरतपुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष यमलाल कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट खेलाडीलाई सम्मान एवं उत्कृष्ट सामुदायिक विद्यालयका छात्र÷छात्रा लगायतलाई पुरस्कृत गरिएको थियो ।


 

प्रतिक्रिया दिनुहोस