माओवादी केन्द्रले मानवअधिकार आयोगलाई धम्की दिएको: ओलीको आरोप

सफल खबर संवाददाता

मंगलबार, ३० फागुन २०७९, १६ : ४३
माओवादी केन्द्रले मानवअधिकार आयोगलाई धम्की दिएको: ओलीको आरोप

काठमाडाैं। नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन्। माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताए। मंगलबारबाट काठमाडौंमा शुरू मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा उनले मानव अधिकारको रक्षाका लागि लड्न पार्टीनिकट मानव अधिकार एलाइन्सलाई निर्देशनसमेत दिए।

अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमानदार र समर्पित भएर लाग्न पनि सो एलाइन्सलाई सचेत गराए।उनले भने, ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन् । तर्साउँछन्, धम्क्याउँछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन् । खुट्टा याद राख्नुस् भन्न सक्छन् । यो हुँदैन भन्न सकिँदैन । त्यसकारण हाम्रो एलाइन्स आफैंमा मानवअधिकारप्रति समर्पित, इमानदार हुनुपर्दछ । मानव अधिकारप्रति उभिन सक्ने, बोल्न सक्ने, त्यसका रक्षाका निम्ति लड्न सक्ने त्यो हुनुपर्दछ । एक्लै भयो भने फाँसी दिन सक्छन् ।’अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उलंघनकर्ताहरूले नै बढी मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने जरुरी रहेको पनि बताए। 

प्रतिक्रिया दिनुहोस