मध्यबिन्दु । गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जटायु रेस्टुरेन्टको खोरमा ल्याएर राखिएका १० गिद्धलाई आज प्रकृतिमा छाडिएको छ ।चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका र त्यस केन्द्रमा जन्मिएका विश्वकै दुर्लभ डङ्गर प्रजातिका गिद्धहरूलाई नमूना मध्यवर्ती सामुदायिक वनमा अवस्थित जटायु रेस्टुरेण्ट क्षेत्रबाट छाडिएको हो ।
गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलगायत संरक्षण क्षेत्रमा लागेका दातृ निकायका प्रतिनिधि र संरक्षणकर्मीको उपस्थितिमा ती गिद्ध प्रकृतिमा छाडिएको हो । अति संकटापन्न अवस्थामा रहेको डङ्गर जातको गिद्धको सङ्ख्या बढाउनका लागि सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । आज छाडिएकासहित कसराको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ६९ गिद्धलाई अहिलेसम्म जंगलमा छाडिसकिएको छ ।
जंगलका छाडिएका गिद्धको गणना गर्न ढाड र खुट्टामा सेटलाइट ट्याग लगाएर छाडिएको संरक्षणविज्ञ डिवी चौधरीले बताए। ‘खुट्टामा नम्बर ट्याग र ढाडमा सेटलाइट ट्याग लगाइएको छ’, उनले भने , ‘यहाँबाट छाडिएका गिद्ध कहाँ र कुन अवस्थामा छन् दैनिक मनिटरिङ गरिन्छ ।’लोपोन्मुख गिद्धको संरक्षण गरेर सङ्ख्या बढाउन भन्दै विसं २०६३ भदौमा कावासोतीको पिठौलीस्थित सामुदायिक वनमा गिद्ध रेस्टुरेन्ट सुरु गरिएको हो । त्यो रेस्टुरेन्टमा बुढ्यौली लागेका चौपाया आहारा दिएर गिद्धलाई लोभ्याइन्छ ।
नेपालबाट सुरु गरिएको गिद्ध प्रजनन केन्द्र र जटायु रेस्टुरेन्ट प्रोजेक्ट संसारमै सफल मानिएको छ । नेपालमा अहिलेसम्म ६९ वटा गिद्ध प्रजनन केन्द्रमा हुर्काएर जंगलमा छाडिएको छ । जंगली ४० गिद्ध समातेर सेटलाइट ट्याग लगाएर जंगलमै छाडिएको छ । लोपोन्मुख गिद्ध संरक्षणको अभियानस्वरूप नेपालमा हाल नौ प्रजातिका गिद्ध पाइन्छ । नेपालमा पाइने गिद्धमध्ये जटायु रेष्टुरेन्ट पिठौलीमा आठ प्रजातिको गिद्धको बासस्थान रहेको छ । नेपालभर करिब १५ हजारको सङ्ख्यामा गिद्ध रहेको अनुमान गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ फागुन २०७९, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विषाक्त आहाराका कारण गिद्ध मर्ने क्रम बढ्दै