काठमाडाैँ । आज अन्तर्राष्ट्रिय नारी दिवस। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।
आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना गरिँदै छ।
यो दिनलाई महिलालाई महिला भएकोमा लाज होइन गर्व गर्नु पर्छ भन्ने कुरालाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका महिलाको योगदानको कदर गर्ने दिनका रुपमा पनि लिइन्छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवधारणा अमेरिकाको सोसिअलिस्ट पार्टीले सन् १९०९ को फेब्रुअरी २८ मा घोषणा गरेको राष्ट्रिय महिला दिवसबाट प्रभावित भएको हो ।
अर्को वर्ष अर्थात सन् १९१० मा विश्वभरका सोसिअलिस्ट डेनमार्कमा भेला भए र सहभागीले अन्तर्राष्ट्रिय महिला दिवसको अवधारणा पारित गरे । त्यसको अर्को वर्ष मार्च १९ मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, त्यो बेला यसलाई कामकाजी महिलाको अन्तर्राष्ट्रिय दिवस भनिन्थ्यो । पहिलो महिला दिवसमा डेनमार्क, जर्मनी, स्वीट्जरल्याण्ड र अस्ट्रियामा र्याली भएका थिए ।
पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हप्ता दिन पनि नपुग्दै अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ट्रिएन्जल सर्टवेस्ट फ्याक्ट्रीमा आगलागी भयो । त्यसमा १४६ जनाको ज्यान गयो, ज्यान गुमाउनेमा अधिकांश त्यहाँ कार्यरत आप्रवासी महिला थिए ।
यो घटनाले उद्योगमा काम गर्ने अवस्था र परिवेशबारे मुख्य परिवर्तनको कारण बन्यो । त्यहि आगलागीमा मारिएका कामकाजी महिलाको सम्झनाको रुपमा पनि अन्तर्राष्ट्रिय महिला दिवस रहने गरेको छ । सुरुका वर्षहरुमा अन्तर्राष्ट्रिय महिला दिवस कामकाजी महिलाको अधिकार र उनीहरुको सबलीकरणका सवालमा केन्द्रित थियो ।
रुसमा पहिलो पटक सन् १९१३ को फेब्रुअरीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो । सन् १९१४ मा पहिलो विश्व युद्ध सुरु भयो । मार्च ८ मा महिलाहरुले युद्ध विरुद्ध र्याली गरे । महिलाहरुले युद्धको समयमा विश्वभरबाट एकताको प्रदर्शन गरे ।
सन् १९१७ को फेब्रुअरी २३ (रुस), पश्चिमी क्यालेन्डरमा भने मार्च ८ का दिन रुसका महिलाले महत्वपूर्ण बन्द आह्वान गरे ।
यसलाई जार शासन पतनको आधार विन्दु मानिन्छ । त्यसपछिका केही वर्ष पूर्वी युरोप र सोभियत युनियनमा मार्च ८ को दिन सार्वजनिक बिदा हुने गर्यो । बिस्तारै यो दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा स्वीकार्य हुँदै गयो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७५ मा अन्तर्राष्ट्रिय महिला वर्ष मनाइयो । त्यसपछि सन् १९७७ मा संयुक्त राष्ट्रसंघले आधिकारिक रुपमा महिला अधिकारको उत्सवको रुपमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसलाई मान्यता दियो ।
यो दिनलाई संयुक्त राष्ट्रसंघले ‘महिला अधिकारका क्षेत्रमा भएका प्रगतिको परिदृश्य दर्शाउन, परिवर्तनका लागि आह्वान गर्न र उत्प्रेरणा प्रदान गर्ने खालका कानुनको सम्मान गर्न तथा सामान्य महिलाले देखाएको लगनको जसले महिला अधिकारको इतिहासमा अतुलनीय योदान गरेका छन्, त्यो देखाउन’ मनाइने दिनको रुपमा उल्लेख गरेको छ ।
सन् २०११ मा अन्तर्राष्ट्रिय महिला दिवसको १०० वर्ष पूरा भएको अवसरमा विश्वभर विविध कार्यक्रम भए । त्यसपछिका वर्ष अन्तर्राष्ट्रिय महिला दिवसले थप सघन रुप लिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, ०७ : १३
लेखकबाट थप