अझै ३ दिन निरन्तर भारी बर्षा हुने

सफल खबर संवाददाता

विहीबार, २८ असार २०७५, १५ : ३८
अझै ३ दिन निरन्तर  भारी बर्षा हुने

काठमाडौं । बुधबार राती काठमाडौं उपत्यकामा ९३ दशमलव ६ मिलिमिटर पानी प¥यो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका मौसमविद बरुण पौडेलका अनुसार सिनामंगल र भक्तपुर क्षेत्रमा भीषण बर्षा भएका कारण उक्त क्षेत्रमा बाढीका कारण जलमग्न बन्न पुग्यो । अझै केही दिन बर्षाको संभावना रहेको छ । आज राती पनि काठमाडौ उपत्यकामा भारी बर्षा हुने मौसमविदको पूर्वानुमान छ ।

उपत्यकामा भएको उच्च बर्षाका कारण काठमाडौंको मनहरा नदीमा पानीको सतह बढेको छ । देशका अन्य नदीमा जलस्तर सामान्य रहेपछि मनहरा र वागमती नदीमा पानीको सतह खतराजनक रुपमा बढेको छ । यस्तै अन्य शाखा नदीहरु बिष्णुमती, धोविखोला, हनुमन्ते खोलामा पानीको मात्रा बढेको छ ।

देशका सबै भूभागमा मनसुन सक्रिय रहेको छ । खासगरि मध्य र पश्चिमी भागमा बढी बर्षा भइरहेको छ । यी क्षेत्रहरुमा साँझ राती र बिहानको समयमा बढी बर्षा हुने संभावना रहेको मौसमबिद् पौडेलले बताए । उनले भने–‘मध्य र पश्चिम क्षेत्रमा मनसुनको प्रभाव बढी छ, दिउसो रोकिने राती र बिहान अत्यधिक पानी पानी पर्ने संभावना छ । पूर्वी पहाडी क्षेत्रमा संखुवासभामा पानी बढी पर्ने देखिएको छ ।’
पहाडी क्षेत्रमा पानी पर्ने संभावना उच्च भएकोले पहाडि क्षेत्रका राजमार्ग तथा सडकमा पहिरोको उच्च जोखिम हुने गरेको छ । ती क्षेत्रहरुमा संभावित पहिरोको जोखिमका स्थानहरुमा सावधानी हुन आवश्यक छ । यस्तै राती र बिहानको समयमा पानी धेरै पर्ने भएकोले नदी किनार तथा पहिरोको जोखिम रहेका घर परिवारले सचेत रहनुपर्ने मौसमविदको सुझाव छ  ।   

अझै चार/पाँच दिन बर्षा हुने
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा अधिकांश भागका अझै केही दिन निरन्तर बर्षा हुने जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ भने साँझ  र राती पनि देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षा हुनेछ । यस्तै पूर्वका केही भागमा पनि बर्षा हुनेछ ।

यस्तै भोली शुक्रबार पनि दिउसो  देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू–भागका अधिकांश स्थानहरुमा र पुर्वका केहि स्थानहरुमा पानी पर्ने अनुमान छ ।
असार ३० गते शनिबार पनि  देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भूभागका धेरै स्थानहरु र पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षा हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ  ।  

यस्तो छ बाढी पूर्वानुमान
बाढी पूर्वानुमान शाखाका अनुसार देशैभर हल्का देखि मध्यम खालको बर्षा हुने भएकोले  देशका कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कणााली र महाकाली सबै मुख्य नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने अनुमान छ । रातीको समयमा केही नदीमा पानीको तह उच्चतहमा पुग्ने अनुमान छ । यस्तै पश्चिमको चुरेबाट बग्ने  साना नदीहरुमा बाढीको संभावना रहेको छ ।  
यी नदीहरुमा भोली शुक्रबार पनि पानीको बहाव उच्च हुने र शनिवार भने सामान्य हुने पूर्वानुमान छ । ठूला नदी तथा साना नदीमा बाढीको उच्च जोखिम भएकोले ती स्थानमा बसोबास गर्नेहरुलाई उच्च सर्तक रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस