काठमाडौं । संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा बिस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो ।
अहिले काठमाडौंको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन् । ठमेल क्षेत्रका सडकमा व्यवसायी देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष निलहरि बाँस्तोला पर्यटन आवागमनसँगै नेपालको पर्यटन उद्योगमा केही आशा पलाएको बताउँछन् । ‘लामो समय कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक आएसँगै खुशी छाएको छ,’ उनी भन्छन् । विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्ने उनको भनाइ छ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा अहिले ठमेलमा विदेशी पर्यटक बढ्न थालेको बताउँछन् । ‘ठमेलका भित्री गल्लीमा बिस्तारै विदेशी पर्यटक देख्न थालिएको छ,’ उनी भन्छन् । ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ । ठमेल क्षेत्रमा १ हजारभन्दा बढी होटल रहेका छन् ।
ठमेलको चारतारे होटल रमदा इन्कोरका सञ्चालक गोपाल पङ्गेनी पर्यटन मौसम शुरू भएसँगै आफ्नो होटलमा बुकिङ गर्ने पर्यटकको संख्या बढेको बताउँछन् । अंग्रेजी पात्रोअनुसार मार्च, अप्रिल र मे महिनालाई नेपालमा पर्यटकीय मौसमका रूपमा लिने गरिन्छ । काठमाडौं महानगरपालिका–१६ ठमेलमा ९२ कोठासहित सञ्चालनमा रहेको रमदा होटलमा मार्चमा ७० प्रतिशत, अप्रिल र मेमा ९० प्रतिशत कोठा बुकिङ भएका छन् ।
सोही होटलका महाप्रबन्धक महेश फुँयाल ठमेलमा पर्यटकीय गतिविधि बिस्तारै बढ्दै गएको बताउँछन् । ‘१ महिना पहिलेभन्दा अहिले होटलमा आउने स्वदेशी तथा विदेशी पाहुना बढेका छन्,’ उनी भन्छन् । अब बिस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने उनको अपेक्षा छ ।
ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने पाहुना खचाखच हुन थालेका छन् । शुक्रवार र शनिवार भने ठमेलमा थप चहलपहल हुँदै आएको छ । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा फर्किन थालेका छन् ।
ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दै आएका द सर्ट स्टेसन रेस्टुराँ एन्ड बारका सञ्चालक धर्मराज पनेरु रातिको समयमा ठमेलमा मनोरञ्जन गर्न आउने विदेशी पाहुनाको संख्या बढेको बताउँछन् । ‘पछिल्लो १५ दिनदेखि रात्रिकालीन व्यवसाय क्रमशः राम्रो हुँदै गएको छ, यसले हामी व्यवसायीमा खुशी छाएको छ,’ उनी भन्छन् । ठमेल क्षेत्रमा ६ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को फ्रेबुअरीमा हवाईमार्ग भएर ७३ हजार २५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरीमा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्ष सन् २०२२ को फ्रेबुअरीमा १९ हजार ७६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा ९ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० फागुन २०७९, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्ल्याण्डबाट घुम्न आएका पर्यटक मृत भेटिए
नयाँ वर्षसँगै बढ्यो पर्यटकको चहलपहल, व्यवसायी उत्साहित
कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण
अब रारामा पर्यटक प्रहरी रहने
जनवरीमा करिब ८० हजार पर्यटकले गरे नेपाल भ्रमण
६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज