उदयपुर । यसपटक अहिले मकैखेती गर्ने बेलामा एक पटक पनि वर्षा हुन सकेको छैन । वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन् ।
माघ महिनाको वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको सुरुको हप्तादेखि मकैखेती शुरु गरिन्छ । तर अहिलेसम्म एक पटक पनि वर्षा नहुँदा खडेरीले मकै लाउन समस्या भएको छ । मकै खेतीको मौसम शुरु भए पनि एक पटक पनि वर्षा नभएपछि समस्या भएको गुनासो गर्दै रौतामाई गाउँपालिका –२ भुटारका कृषक गोपाल मगरले भने, “माघको दोस्रो हप्ताबाट नै खेतबारी जोतियो, मकै छर्ने समयमा पानी आएन ।”
अहिलेसम्म एक पटक पनि सामान्य वर्षा नहुँदा र सुक्खा बारी तथा खेतमा मकै छर्न पर्दा मकैको बिरुवा नै उम्रन कठिन हुने र परिश्रम मात्र खेर गएको उनको भनाइ छ । उदयपुरगढी गाउँपालिका भलायाडाँडाका कृषक अम्बरबहादुर अधिकारीले समयमा मकैखेती गर्न नपाएको गुनासो गर्दै भने, “खडेरीले मकै छर्न समस्या भएको छ ।”
विगत वर्षमा पुस वा माघदेखि वसन्त पञ्चमीभित्र दुई–चार पटक वर्षा हुनेगरेको कारण जमिन भिज्ने गरेकाले मकैखेती गर्न सहज हुने गरेपनि यसपटक अहिलेसम्म वर्षा भएको छैन । सुक्खा बढ्दै गएकाले खेतीपाती गर्न कठिनाइ भएको लिम्चुङबुङ गाउँपालिका–३ जाँतेका खम्बरराज राईको भनाइ छ । फागुन लाग्नासाथ मकै छर्न आकाशे पानी कुरेर बसे पनि त्यसो नहुँदा यस क्षेत्रका किसान चिन्तित बनेको उनको भनाइ छ । खडेरी बढ्दै गएकाले मकै छर्न ढिलाइ भएको त्रियुगा नगरपालिका –१४ साउनेका कृषक वीन्द्रबहादुर मगरले बताए ।
त्रियुगा नगरपालिका –१६ चिलाउनेका जीतबहादुर राईले छ वर्षअघि पनि अहिलेकोजस्तै समस्या आएको स्मरण गरे । जबर्जस्ती उम्रेका बिरुवा सबै मरे, विसं २०७४ मा पुसदेखि २०७५ भदौसम्म सुक्खा हुँदा जिल्लाको पहाडी क्षेत्रमा मकैखेती नै भएन ।”
दुई वर्षअघि पनि यसरी नै लामो खडेरी हुँदा जिल्लाको पहाडी भेगमा मकै उत्पादन शून्य भयो । बीउ नै नरहेपछि गत वर्ष मकैखेती गर्ने जिल्लाका पहाडी क्षेत्रका कृषकले छिमेकी जिल्ला धनकुटा, सङ्खुवासभा, भोजपुर र इलामबाट बीउ ल्याउनुपरेको बताउँछन् । यहाँका पहाडी क्षेत्रका चार पालिकामा झण्डै ६० प्रतिशत कृषक मकैखेतीमा निर्भर हुँदैआएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाइएको छ ।
उदयपुरमा १८ हजार चार सय हेक्टर जग्गामा मकैखेती हुँदैआएको कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी तथा सहायक अधिकृत महेश चौधरीले बताए । रौतामाई गाउँपालिका, उदयपुरगढी, लिम्चुङबुङ र ताप्ली गाउँपालिकासहित त्रियुगा नगरपालिका कटारी बेलका र चौदण्डीगढी नगरपालिकाका पहाडी क्षेत्रमा अधिकांश कृषक मकैखेतीमा निर्भर हुँदैआएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० फागुन २०७९, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृत्तिमा समानता
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध
सुनसरीको तरहरा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
सुनसरीमा बिहानैदेखि अधिक वर्षा, सतर्क रहन आग्रह
आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने
वर्षा र बाढीबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु