नेकपाको सचिवालयले पारित गर्‍यो पार्टीको नियमावली

सफल खबर संवाददाता

बुधबार, २७ असार २०७५, १२ : ४०
नेकपाको सचिवालयले पारित गर्‍यो पार्टीको नियमावली

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टीले पार्टीको नियमावलीलाई अन्तिमरुप दिएको छ । आज बसेको सचिवालयको बैठकले  पार्टी एकतापछि अन्तरिम विधानबमोजिम बनेको नियमावली पारित गरेको हो ।

बुधबार बिहान बालुवाटारमा बसेको सचिवालयको बैठकले पार्टीको अभिन्न अंगको रुपमा रहेको नियामावलीलाई अनुमोदन गरेर प्रकासन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नियमावलीलाई अन्तिम रुप दिन सो पार्टीको सचिवालय बैठक हिजो पनि बसेको थियो । स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाएको थियो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ । नियमावलीको अभावमा एकीकृत पार्टी र भातृसंगठनका केही काम रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस