नेपाल आउने अवैध आप्रवासीलाई कस्तो कारबाही हुन्छ?

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०७५, १५ : २८
नेपाल आउने अवैध आप्रवासीलाई कस्तो कारबाही हुन्छ?

काठमाडौँ । विभिन्न बहानामा यतै बस्नेगरी वा नेपालको बाटो प्रयोग गरी विभिन्न देश जानलाई नेपाल आउने अवैध आप्रवासीको सङ्ख्या बढ्न थालेका विवरणहरू सार्वजनिक भएका छन्।

हालैका दिनहरूमा नेपाल आएका केही अवैध आप्रवासी पक्राउ परेका छन् भने केहीलाई अध्यागमन विभागले निष्काशन गरेको छ ।

केही विदेशी नागरिकलाई निश्चित समयसम्म नेपाल आउन नपाउनेगरी फिर्ता पठाइएको छ।
गत साता अफ्रिकी मुलुक एरिट्रेयाका नौ जना आप्रवासीलाई नियन्त्रणमा लिइएको थियो।

विशेषत: अफ्रिकी मुलुकहरूबाट अवैध रूपमा आप्रवासीहरू आउने गरेको पाइएको अध्यागमन विभागको भनाइ छ।

यसरी नेपालमै बस्नेगरी वा विदेश जाने बाटोका रूपमा नेपाल आउने अवैध आप्रवासीलाई अध्यागमन कानुनअनुसार कारबाही हुने सरकारी अधिकारी बताउँछन्।

कस्तो कारबाही हुन्छ?
नेपालको अध्यागमन कानुन मिचेको पाइएमा कसुर हेरी सजाय हुने अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले बताए।

उनका अनुसार अदालतको अनुमति लिएर अध्यागमन अधिकृतले अवैध आप्रवासीलाई २५ दिनसम्म थुनामा राख्न सक्नेछ।

यसको जानकारी भने अध्यागमन अधिकृतले महानिर्देशकलाई दिनुपर्ने प्रावधान छ। यसैगरी अवैध आप्रवासीलाई नेपालबाट समय तोकेर वा नतोकी निष्काशन गर्न सक्ने काफ्लेले बताए। अवस्था र अपराधको प्रकृति हेरेर यस्तो निर्णय गरिने उनले जानकारी दिए।

पाँच वर्ष कैद'
नेपालको अध्यागमन कानुन उल्लङ्घन गर्दै जाली राहदानी तथा कागजात पेस गरेर नेपाल प्रवेश गर्ने अवैध आप्रवासीलाई भने ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद हुनसक्छ।

अवस्था हेरेर यस्ता आप्रवासीलाई दुवै सजाय समेत हुनसक्ने काफ्लेले बताए। काफ्लेका अनुसार नेपाल आउने विदेशीका लागि नेपालले नौ थरी प्रवेशाज्ञा (भिसा) जारी गर्दै आएको छ।

यसरी दिइएको भिसा जुन प्रयोजनका लागि हो त्यसैका लागि विदेशी नागरिक नेपाल बस्न पाउँछन्। कसैले एउटा प्रयोजनका लागि भिसा लिएर अर्कै काम गरि बसेमा तिनलाई पनि अवैध आप्रवासी मानिने उनले बताए। -बीबीसी

प्रतिक्रिया दिनुहोस