काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९–८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् ।
अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म रू ३० अर्ब आन्तरिक र रू २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ ।
चालु आवका लागि सरकारले रू दुई खर्ब ५६ अर्ब बराबर आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसबाट वार्षिक बजेटको १४ दशमलव तीन प्रतिशत स्रोत बेहोर्ने सरकारको योजना थियो । तर गत पुस मसान्तसम्ममा सरकारले रू ३० अर्ब बराबर मात्रै आन्तरिक ऋण उठाएको छ । यो अवधिमा संघीय सरकारले लिएको आन्तरिक ऋणमध्ये रू १५ अर्बको एक वर्षे ट्रेजरी बिल, रू आठ अर्बको दुई वर्षे विकास ऋणपत्र, रू दुई अर्बको तीनवर्षे विकास ऋणपत्र र रू पाँच अर्बको चारवर्षे ऋणपत्र जारी भएका छन् । सोही अवधिमा सरकारले तिरेको आन्तरिक ऋणको साँवा ब्याज भने रू ८३ अर्ब तीन करोड बराबर छ ।
चालु आवका लागि रू ५५ अर्ब ४५ करोड ८३ लाख बराबर अनुदान र रू दुई खर्ब ४२ अर्ब बराबर बाह्य ऋण लिने सरकारको योजना थियो । गत पुस मसान्तसम्म सरकारले लिएको वैदेशिक अनुदानको वास्तविक प्राप्ति भने रू आठ अर्ब १२ करोड र कुल वैदेशिक ऋण २६ अर्ब ४६ करोड बराबर छ । तर सोही अवधिमा विभिन्न दातृ निकायले अनुदान सहायतातर्फ रू २३ अर्ब १२ करोड १० लाख र सहुलियतपूर्ण ऋणतर्फ रू एक खर्ब १४ अर्ब बराबर प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
विकास पूर्वाधार आयोजनाको कार्यान्वयन प्रभावकारी हुन नसक्दा वैदेशिक अनुदान र ऋण लक्ष्यअनुसार लिन नसकिएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ फागुन २०७९, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा १६ मन्त्रालयसँग छलफल, स्मार्ट कार्यक्रम तथा योजना प्रस्ताव गर्न आग्रह
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
बाढी र पहिरोबाट क्षति भएका २६ आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
४ महिनाभित्र लेखापरीक्षण गरिसक्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई निर्देशन
अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा
अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा