दहीचिउरा खानु स्वास्थ्यका दृष्टिकोणले कति लाभदायी ?

सफल खबर संवाददाता

सोमबार, २५ असार २०७५, १७ : १०
दहीचिउरा खानु  स्वास्थ्यका दृष्टिकोणले  कति लाभदायी ?

काठमाडौं । चिउरा कार्बोहाइड्रेडको स्रोत हो । दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ । दहीचिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्न छैन ।  अरुबेला पनि दहीचिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ । यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं । जुन बेला पनि खान सकिन्छ ।  

दूध फाटेर बन्ने दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ । यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया समेत हुन्छ । चिउरामा भने कार्बोहाइड्रेड, आइरन र प्रोटिन पाइन्छ ।

धानलाई भिजाएर ओखल वा मिलमा कुटेर तयार गरिएको खाद्यपदार्थ नेपाली खाना चिउराको ठूलो महत्व छ । चिउरालाई चोखो खाद्यपदार्थका रुपमा पनि लिइन्छ ।

हिजोआज चिनी हालेर गुलियो बनाएर दही खाने चलन छ । चिनी हाल्नुभन्दा सिजन अनुसारका फलफूल केरा, आँप आदि मिसाएर खाँदा उपयुक्त हुन्छ । यसरी खाँदा हामीले थप भिटामिन र खनिज पदार्थ पनि पाउन सक्छौं ।

यदि गुलियो बनाएर खाने हो भने पनि प्रकृतिक गुलियो सखर, खुदो मिसाइयो भने स्वास्थ्यका लागि लाभदायी हुन्छ । हाम्रा विभिन्न पारम्परिक अचार अथवा तरकारीसँग दहीचिउरा खादा अझ पूरक र पोषिलो हुन्छ ।

दहीले चिसो लाग्ने भएकाले राति सुत्ने बेलामा खानु हुँदैन भन्ने मान्यता छ । तर, ठिक्कको तापक्रममा राखिएको दही जुन समयमा खाए पनि केही फरक पर्दैन । दही फ्रिजबाट निकालिएको भएमा चाहिँ चिसो लाग्न सक्छ । दहीले कहिल्यै बिरामी पार्दैन, यदि कुनै हानिकारक किटाणुले यसमा प्रवेश पाएका छैनन् भने ।  

मधुमेह भएका बिरामीहरुले चिनी मिसाएको दही खानु हुँदैन । बजारको दहीमा मिठो बनाउन चिनी हाल्ने प्रचलन छ । त्यसैले सकेसम्म आफ्नो घरमा बनाएको दहीमा चिउरा मिसाएर खाँदा राम्रो । दैनिक खानामा एक कचौरा दही खाँदा स्वास्थ्यका हिसाबले राम्रो मान्न सकिन्छ ।

दहीका फाइदा
– दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
– दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ।
–दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ।
– पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ।

चिउराका फाइदा
– चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ।
– प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ।
– फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी हुन्छ।

प्रतिक्रिया दिनुहोस