अस्ट्रेलियामा पक्राउ परेका व्यक्ति उत्तर कोरियाको ‘वफादार एजेन्ट’

एजेन्सी

सोमबार, ०३ पुस २०७४, ११ : ४४
अस्ट्रेलियामा पक्राउ परेका व्यक्ति उत्तर कोरियाको ‘वफादार एजेन्ट’

सिड्नी । अस्ट्रेलियाको सिड्नी शहरमा एक व्यक्ति कथितरुपमा उत्तर कोरियाको लागि काम गरेको आरोपमा पक्राउ परेका छन् । अस्ट्रेलियाको फेडरल प्रहरीको दाबी छ, पक्राउ परेका व्यक्ति उत्तर कोरियाको ‘आर्थिक एजेन्ट’ का रुपमा काम गरिरहेका थिए ।

५९ वर्षीय चान हान चोईमाथि अस्ट्रेलियाबाट अवैद्य निर्यातको सौदाबाजी गरेको र व्यापक विध्वंशक हतियारको आपूर्तिसँग जोडिएको छलफलमा शामिल भएको आरोप लगाइएको छ ।

प्रहरीका अनुसार उनले संयुक्त राष्ट्र संघ र अस्ट्रेलियाले लगाएको प्रतिबन्धनको उल्लंघन गरेका छन् ।
३० वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका चानविरुद्ध दर्ता गरिएको मुद्दा अस्ट्रेलियामा यस प्रकारको पहिलो हो ।
अस्ट्रेलियाले सन् १९९५ मा व्यापक विध्वंशक हतियार रोक्नका लागि कानून बनाएको थियो । तर, यसमा पहिलो पटक कसैबिरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

अस्ट्रेलियाको प्रहरीका अनुसार चान उत्तर कोरियाका उच्च अधिकारीहरुको सम्पर्कमा थिए । चानले उत्तर कोरियाको हतियार कार्यक्रमका लागि सौदाबाजी गरेको आरोप लगाइएको छ । यसमा बालिस्टिक मिसाइल टेक्नोलोजीको बिक्रीसमेत सामेल छ ।
अस्ट्रेलियाको फेडरल प्रहरीका अनुसार चानले किम जोङ उनको सरकारका लागि रकम संकलन गर्न यस्तो गरेका हुन् ।
उनीमाथि उत्तर कोरियाको कोइला इन्डोनेसिया र भियतनामका खरिदकर्ताहरुलाई बेच्न सौदाबाजी गरेको पनि आरोप लगाइएको छ ।

शनिबार राती चानलाई उनको घरबाट पक्राउ गरिएको थियो । उनीमाथि कूल ६ वटा आरोप लगाइएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत प्रहरीले चान अस्ट्रेलियाली नागरिक भएको र पछिल्ला ३० वर्षदेखि यहाँ बसोबास गर्दै आइरहेको जानकारी दिएको थियो ।
चानलाई यस मामिलामा १० वर्षसम्मको जेल सजाय हुनसक्छ । हाल उनलाई जमानत दिन अस्वीकार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस