पानीजहाज सञ्चालनका लागि नदीको सर्वेक्षण गरिँदै : अर्थमन्त्री खतिवडा

सफल खबर संवाददाता

सोमबार, २५ असार २०७५, १३ : ४९
पानीजहाज सञ्चालनका लागि नदीको सर्वेक्षण गरिँदै : अर्थमन्त्री खतिवडा

काठमाडौं  । अर्थमन्त्री डा. युवराज खतिवडाले पानीजहाज सञ्चालनका लागि नदीको सर्वेक्षणको काम अगाडि बढेको बताएका छन् ।
उनले पानीजहाज पारवहनसम्बन्धी संस्थानबाट सञ्चालन गर्ने या अर्को संरचना बनाउने भन्ने विषयमा नीति निर्माणको काम भइरहेको बताए ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले नयाँ आर्थिक वर्ष शुरु भएपछि काम शुरु हुने बताएका हुन् ।

‘प्रधानमन्त्रीले दिउँसै सपना देखेको पानीजहाज कुन मन्त्रालयअन्तर्गत पर्छ र चलाउन कति बजेट विनियोजन भएको छ ?’ भन्ने कांग्रेस सांसद अनिता देवकोटाको प्रश्नको जवाफमा मन्त्री खतिवडाले नदी सर्वेक्षणको काम भइरहेको बताएका हुन् ।

‘पानीजहाज नदीको सर्वोक्षणका क्रम अगाडि बढेको छ, त्यसका लागि कम्पिटेन्ट अथोरिटी के हो ? पारवहनसँग सम्बन्धित काम गर्ने संस्थान छन्, उनीहरूबाट चलाउने या आर्को व्यवस्था गर्ने भन्ने नीति निर्माणको तहमा छौं,’ मन्त्री खतिवडाले भने, ‘आर्थिक वर्ष शुरु हुनेबित्तिकै प्रक्रिया अगाडि बढाउँछौं ।’

प्रतिक्रिया दिनुहोस