‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनमा सुधार आएन’

सफल खबर संवाददाता

विहीबार, १२ माघ २०७९, ०६ : ५८
‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनमा सुधार आएन’

जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धनुषामा सञ्चालित कार्यक्रम कार्यान्वयनमा उल्लेख्य सुधार हुन सकेको छैन।

परियोजना कार्यान्वयन एकाइ धनुषाको अर्धवार्षिक प्रगति प्रतिवेदनअनुसार ६ महिनामा भौतिक प्रगति ४५ प्रतिशत भए पनि वित्तीय प्रगति भने २८ प्रतिशत मात्रै भएको पाइएको छ।

जिल्लास्थित सरोकारवालासँग दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गर्न आज जनकपुरधाममा आयोजित कार्यक्रममा परियोजना कार्यान्वयन एकाइ धनुषाका प्रमुख वरिष्ठ कृषि अधिकृत युगल किसोर तिवारीले स्थानीय निकाय सक्रिय नहुँदा सोचेअनुसार प्रगति हुन नसकेको बताए।

उनले स्थानीय पालिकाले कार्यान्वयन गर्ने साना व्यावसायिक कृषि उत्पादन केन्द्र ९पकेट० विकास कार्यक्रमका गतिविधि समयमै सुरु नहुँदा यस्तो समस्या भएको बताए।

“जिल्लाका १८ पालिकामध्ये आधाले पनि समयमा कार्यक्रम सुरु गरेका छैनन्, कतिपय क्षेत्रमा ‘सिजन’अनुसारका कार्यक्रम पनि समयमै सुरु भएको देखिएन”, तिवारीले भने, “एकैपटक जेठ असारमा कार्यक्रम कार्यान्वयन गर्ने प्रवृत्तिले समस्या निम्त्याउँछ, यसले राम्रो सन्देश जाँदैन।”

कार्यक्रम कार्यान्वयनका लागि सूचना प्रकाशन तथा भुक्तानी दिन बाँकी रहेकाले पनि कार्यक्रममा सुधार हुने आफूहरुको विश्वास रहेको र आगामी फागुनमा सबै स्थानीय तहका प्रमुखसँग छलफल गरेर यो समस्या समाधान गर्नेसमेत उनले बताए।

कार्यक्रममा सहभागी स्थानीय तहमा कार्यरत कृषि तथा पशु प्राविधिकले भने कर्मचारीको अभावलगायतका कारणले स्थानीय तहले कार्यक्रम कार्यान्वयनमा समस्या भोगिरहेको बताए।

उनीहरुले हाल देखिएका समस्या समाधानका लागि नेतृत्व तहमै समन्वय तथा छलफलको आवश्यकता रहेकोमा जोड दिए।

प्रतिक्रिया दिनुहोस