पत्रकारहरुको टाउकोदुखाई बनेको हुबहु समाचारबारे बहस

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०७५, १९ : १२
पत्रकारहरुको टाउकोदुखाई बनेको हुबहु समाचारबारे बहस

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले जिम्मेवार र मर्यादित पत्रकारिताको लागि शिक्षा र समीक्षा भन्ने नारासहित सुरु गरेको नियमित पाठशालाको दोस्रो श्रृंखलामा शुक्रबार हुबहु समाचारबारे बहस गरिएको छ ।
समाचारको कलात्मक पक्ष र प्रस्तुतिलाई ध्यान नदिई सूचनामात्र दिने गर्दा हुबहुको समस्या आएको सहभागीहरुको निष्कर्ष थियो । उनीहरुले इमेलमा प्राप्त  हुने समाचार सम्पादन नगरी प्रकाशन वा प्रसारण गर्दा हुबहु हुने गरेको बताएका छन् । हुबहुको समस्या समाधानका लागि पत्रकारले आफैं समाचार लेख्न र समाचार कक्षबाट पनि सम्पादनपछि मात्रै प्रकाशन वा प्रसारण गर्न आवश्यक रहेको सहभागीहरुको सुझाव थियो ।
पाक्षिकरुपमा हरेक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान ११ बजे पाठशालाको आयोजना हुँदै आएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको कार्यालय भरतपुरमा आयोजित पाठशालामा महासंघका जिल्ला शाखा अध्यक्ष राधेश्याम खतिवडा, प्रदेश समिति सदस्य रामकान्त पौडेल लगायत १५ जनाको सहभागिता रहेको थियो । पाठशाला संयोजक एवं महासंघका जिल्ला शाखा सल्लाहकार सूर्यप्रकाश कँडेलले पत्रकारहरुले अध्ययन र अभ्यासमा जोड दिनुपर्ने बताउँदै पाठशालामा पत्रकारिता क्षेत्रका समस्याबारे छलफल र पत्रकारको क्षमता अभिवृद्धिको प्रयास गरिने बताउनु भयो ।
 

प्रतिक्रिया दिनुहोस