तरकारी जोनका कृषकलाई अनुदानमा कृषि उपकरण

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०७५, १६ : ०९
तरकारी जोनका कृषकलाई अनुदानमा कृषि उपकरण

चितवन । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यक्रम चितवनमा प्रभावकारी देखिएको छ । परियोजना कार्यान्वयन इकाई तरकारी जोन पार्वतीपुर चितवनले सोमबार एक कार्यक्रमबीच तरकारी जोनका कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

कार्यक्रममा १० जना कृषकलाई मिनी टिलर, ७३ जनालाई अन्य उपकरण वितरण गरिएको वरिष्ठ कृषि अधिकृत भलकनाथ कँडेलले जानकारी दिनुभयो । अनुदानमा पावर टिलर पेरे मेसिन, तौल मेसिन तथा औषधि छर्ने स्प्रे मेसिन वितरण गरिएको थियो । मिनी टिलरलाई ५० प्रतिशत अनुदान दिइएको छ ।
कष्टम हायरिङका उपकरणहरु तथा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परियोजना कार्यान्वयन इकाई तरकारी जोन पार्वतीपुरले कृषि उत्पादकत्व वृद्धि गर्दै तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले आफ्ना गतिविधि बढाइरहेकोमा खुसी व्यक्त गर्नुभयो । “अहिले तरकारी जोनमात्र छ” उहाँले भन्नुभयो, “यसलाई सुपर जोनको रूपमा विकास गर्न आवश्यक छ । आयोजनाले यस क्षेत्रको आवश्यकताको आधारमा बृहत् योजना संचालन गर्दै जानुपर्छ ।”

मेयर दाहालले कृषकलाई मेसिनको अधिकतम उपयोग गरी उत्पादकत्व दोब्बर बनाउन सुझाव दिनुभयो । उहाँले भरतपुर महानगरपालिकाले कृषि क्षेत्रको दिगो विकास गर्ने नीति लिई अघि बढेको जानकारी दिनुभयो । उहाँले तरकारी, फलफूल, माछा, कुखुरा र अन्न उत्पादन गरी देशलाई नै आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्नुभयो । परम्परागत  र निर्वाहमुखी परिपाटीलाई छोडी आधुनिक प्रणालीमा आउन अनुदान तथा मेसिनरीको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो ।

बरिष्ठ कृषि अधिकृत सुधिर श्रेष्ठले अनुदान प्राप्त गर्ने किसानहरूलाई उच्चतम प्रतिफल हासिल गर्न आग्रह गर्नुभयो । समितिका सदस्य तथा वडा नम्बर २५ का अध्यक्ष विजय भुजेलले कार्यक्रमले कृषि उत्पादन वृद्धिमा ठुलो सहयोग पु¥याउने धारणा राख्नुभयो । कार्यक्रम परियोजना कार्यान्वयन इकाई तरकारी जोन पार्वतीपुकी संयोजक बालिका गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
 

प्रतिक्रिया दिनुहोस