बाँसको लिङ्गो ठड्याएपछि देवघाटमा सुरु भयो माघे सङ्क्रान्ति मेला

सफल खबर संवाददाता

शनिबार, ३० पुस २०७९, ११ : ००
बाँसको लिङ्गो ठड्याएपछि देवघाटमा सुरु भयो माघे सङ्क्रान्ति मेला

फाईल तस्वीर

चितवन । पवित्र तीर्थस्थल देवघाटको बेनीमा शनिवार बिहान बाँसको लिङ्गो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो ।

यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो । सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, सदस्य नवराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघे संक्रान्ति मेला शुरू भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीका अनुसार यस वर्ष विधिवत्रुपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउने क्रम शुरू भएको छ ।

उनले भने, ‘विगत ३ वर्ष कोभिडका कारण रोकिएको मेला पुनः शुरू गर्न लागिएको हो ।’ मेला भर्न ५ लाख भक्तजन आउने अनुमान समितिले गरेको छ । मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ । मेलाको तयारी तीव्र पारिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माघे संक्रान्ति मेलाको अवसरमा शनिवार र आइतवार नारायणगढ मुग्लिन सडकखण्ड नरोकिने जानकारी दिइ । पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले पुस ५ गतेदेखि दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो । संक्रान्ति मेलाका लागि सडक नरोकिने भएको हो ।

शनिवार राति भक्तजन जाग्राम बस्ने प्रचलन छ । शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । शनिवारदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस