तानसेन । सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ। दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ।
सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले तानसेन नगरपालिका(७ ठाँटीमा सो सेवाको शुभारम्भ गरेका छन्। सो अवसरमा उनले सवारी चालक अनुमतिपत्र लिन बुटवल जानुपर्ने समस्यालाई मध्यनजर गर्दै पाल्पाबाटै सेवाको थालनी गरिएको बताए।
पहाडी जिल्लामै पहिलोपटक यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा सुरु गरेको हो। यातायात व्यवस्था सेवा कार्यालय बर्तुङ्गमा सञ्चालनमा छ भने तानसेनको बाँसटारी नजिकै सुरु भएको सवारी चालक अनुमतिपत्रका सबै काम हुने बताइएको छ। बुटवलमा सवारी चालक अनुमतिपत्र लिनेको भीड लाग्ने र अर्कोतर्फ पाल्पासहित आसपासका जिल्लाका स्थानीयवासीलाई बुटवल आउनजान समस्या हुने भएकाले यहीँबाटै सेवा थालिएको छ।
साना सवारीसाधनका लागि निर्माण हुने सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्रमा काम सुरुआत भएसँगै चालु आर्थिक वर्षमा भवन निर्माणलगायतका काम हुनेछ। रु तीन करोड ५० लाख बजेट आवश्यक भए पनि यस वर्ष मन्त्रालयबाट रु एक करोड बजेट विनियोजन गरिएको छ।
जिल्लामा पहिलोपटक दुईपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको सेवाबाट पाल्पासहित गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायतका स्थानीयवासीलाई सेवा लिन सहज हुने तानसेन नगरपालिका(६ का वडाध्यक्ष सागरमान महर्जनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परासीबाट चार चारपाङ्ग्रेको सवारी चालक अनुमतिपत्र वितरण थालियो
सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी