भरतपुर महानगरपालिकालाई लागु औषध मुक्त नगर बनाउने उद्देश्य

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०७५, १९ : १५
भरतपुर महानगरपालिकालाई लागु औषध मुक्त नगर बनाउने उद्देश्य

चितवन । भरतपुर महानगरपालिकालाई लागु औषध मुक्त नगर बनाउने उद्देश्य सहित सुरुआत गरिएको भरतपुर महानगर लागु औषध रोकथाम अभियान अन्तर्गत मेघौलीमा छलफल तथा सचेतनामूलक कार्यक्रम गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ को पर्साढाप स्वास्थ्य चौकीमा छलफल तथा मेघौलीको जानकी माविमा सचेतनामूलक कार्यक्रम गरेको हो ।

सन्देश फाउन्डेश नेपालले गरेको छलफलका क्रममा वडा नम्बर २७ का कार्यवहाक अध्यक्ष राजबहादुर भण्डारी प्रमुख अतिथि रहेका थिए । छलफलका क्रममा स्थानीयले वडामा लागु औषधको दूव्र्यसनी बढ्दै गएको भएपनि यसको रोकथामको लागि अभिभावकले कुनै प्रयास नगरेको बताए । वडा नम्बर २७ का विभिन्न स्थान लागु पदार्थ सेवन गर्नेहरुको अखडा बन्दै गएकोले यसबारे अभिभावकहरुले ख्याल नगरेको स्थानीयको भनाइ थियो । लागु औषध दूव्र्यसनी रोकथामको लागि घरघरबाट अभियान चलाउनुपर्ने भन्दै स्थानीयले यसमा प्रहरीले समेत निगरानी बढाउनुपर्ने बताए । सम्भावित ठाउँमा खोजी गर्दै लागु पदार्थको कारोबार रोक्ने काममा सक्रिय हुन प्रहरीलाई कार्यबहाक वडा अध्यक्ष भण्डारीले आग्रह गरे ।

छलफल पश्चात जानकी माविमा भएको सतेनामूलक कार्यक्रममा विद्यालयका दुई सय भन्दा बढी विद्यार्थी सहभागी रहेका भरतपुर महानगर लागु औषध रोकथाम अभियानका संयोजक दिवाकरराज श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रममा जानकी माविका प्रधानाध्यापक भोला सापकोटा, सन्देश फाउन्डेशन नेपालका संस्थापक गौरवबाबु ढकाल, सन्देश फाउन्डेशनका सदस्यहरु गोकुल कंडेल र रमेश घताने लागु पदार्थको असरका बारेमा विद्यार्थीहरुलाई सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस