चितवन ३ : विक्रम पाण्डेको अग्रता बढ्दै

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, १६ : ३२
चितवन ३ : विक्रम पाण्डेको अग्रता बढ्दै

चितवन । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन् । यो क्षेत्रमा पर्ने २८ वडामध्ये हालसम्म गणना सकिएका ९ वटा वडाबाट पाण्डेले १४ हजार ४७१ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ७ हजार ९८९ मत ल्याएका छन् ।

नेकपा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार दिनेश कोइराला चौथो स्थानमा छन् । जहाँ विक्रम पाण्डे कमजोर भनिएका थिए तिनै ठाउँमा उनले अग्रता लिए । चितवन-३ मा भरतपुर महानगरपालिकाकाका १९ र माडी नगरपालिकाका ९ वटा वडा पर्छन् । महानगरका वडा नम्बर ६, ८ र ९ मा राप्रपाका पाण्डे कमजोर रहेको अनुमान गरिएको थियो, तर पाण्डे यिनै वडामा राम्रो मतसहित अग्रता बढाइरहेका छन् ।

हालसम्म वडा नम्बर ६, ८, ९, १४, १५, १६, १८, १९ र २० नम्बर वडा गणना गरिएका छन् । गणना गरिएका सबैजसो वडा कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ, तर यिनै वडामा पाण्डेलाई सोचेभन्दा राम्रो भोट आएकाले उनी उत्साहित छन् । पाण्डे महानगरका जति पश्चिमतर्फका वडामा पुग्छन् त्यहाँबाट झनै बढी भोट उनलाई आउने देखिन्छ । वडा नम्बर २३, २४, २५, २६, २७ र २८ मा पाण्डेको अग्रता अझै बढ्ने राप्रपाको अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस