प्रधानमन्त्री ओली ‘नयाँ राजा’ बन्न खोजेको कांग्रेसकाे आरोप

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०७५, १६ : ४०
प्रधानमन्त्री  ओली ‘नयाँ राजा’ बन्न खोजेको कांग्रेसकाे आरोप

फाईल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘नयाँ राजा’ बन्न खोजेको आरोप लगाएको छ ।

कांग्रेस नेता डा मिनेन्द्र रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिभिन्न निकायहरुको राखेर प्रधानमन्त्री ओली ‘नयाँ राजाको अवतार’ को रुपमा देखा परेका उल्लेख गर्नुभयो।


उहाँले मन्त्रीहरुले कानून मिचेर जथाभावी गर्ने गरेको भन्दै नियन्त्रण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादल , संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र कानून मन्त्री शेरबहादुर तामाङले कानून मिचेर कर्मचारी र सर्वसाधारणलाई समेत आतंकित बनाएको भन्दै रिजालले मन्त्रीहरुलाई नियन्त्रणमा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयाे ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै नेता रिजालले गृहमन्त्री थापाले कानून मिचेर ठेकेदारहरुलाई कारबाही गर्ने गरेको प्रति आपत्ती जनाउनु भयो ।

उहाँले मूल्य बृद्धिको विरोध गरेका आफ्ना पार्टीका कार्यकर्तालाई सरकारले दमन गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस