चितवनको कालिकामा शैक्षिक अन्तरक्रिया

सफल खबर संवाददाता

सोमबार, ११ असार २०७५, १९ : ०९
चितवनको कालिकामा शैक्षिक अन्तरक्रिया

चितवन । चितवनको कालिका नगरपालिकामा आज सरोकारवालाहरुबिच शैक्षिक अन्तरक्रिया गरिएको छ । नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, विभागीय प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्राचार्य, संस्थागत विद्यालयका अध्यक्ष एवम् प्राचार्यहरुको सहभागीता रहेको कार्यक्रममा प्रस्तावित नगर शिक्षा ऐनको बारेमा छलफल भएको थियो । नगरभित्रका शैक्षिक संस्थाको भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाको सन्दर्भमा पनि छलफल भएको थियो ।

नगर प्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद वाग्लेले प्रस्तावित नगर शिक्षा ऐन प्रस्तुत गरेका थिए । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरेले शैक्षिक सुशासनका लागि भावी दिशाको सन्दर्भमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षाविद् एवम् शिक्षा मन्त्रालयका पूर्व सल्लाहकार रमाकान्त सापकोटाले अवधारणा पत्र र नगर शिक्षा नियमावली माथि टिप्पणी गरेका थिए । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष लिला बहादुर गुरुङ्ग, पृथ्वी माध्यमिक विद्यालयका शिक्षक सूर्यभक्त अधिकारी, कालिका नगरपालिकाका स्रोत व्यक्ति राजेन्द्र बाबु ढकाल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस