काठमाडौँ । तराई–मधेशलगायत क्षेत्रमा आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड,आगजनी आदि घटनाको छानबिन प्रतिवेदन सरकारलाई बुझाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘तराई–मधेश र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेका आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनीलगायतका घटनाको सत्यतथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग–२०७३’ ले आज सो प्रतिवेदन बुझाएको हो ।
आयोगका अध्यक्ष सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलाल दाससहित पदाधिकारी टोलीले ७०९ पृष्ठको उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले जानकारी दिए । तीन पटक म्याद थप गरिएको आयोगको आज अन्तिम समयावधि थियो । आयोग २०७३ साल असोज २ गते गठन भएको थियो ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले प्रतिवेदन अध्ययन गरी अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए । सो अवसरमा अध्यक्ष लालले प्रतिवेदनमा भएका विषयवस्तु र छानबिनका क्रममा अपनाएका विधिबारे जानकारी दिए ।
आयोगले विभिन्न सूचनामार्फत दर्ता भएका एक हजार ३ सय २६ र मधेश केन्द्रित दलबाट प्राप्त १ हजार ९ सय ३८ गरी तीन हजार २ सय ६४ उजुरीको छानबिन तथा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो ।
पूर्वन्यायाधीश लाल अध्यक्ष रहेको आयोगमा सूर्य कोइराला, नवराज ढकाल, सुखचन्द्र झा र सुजन लोप्चन सदस्य तथा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दवाडी सदस्य सचिव रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २९ मंसिर २०७४, १८ : ५८
लेखकबाट थप