काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अनुगमन गर्नका लागि भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने भएका छन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्तहरू भारतका राजीव कुमार, भुटानका सोनाम तोब्गे, बंगलादेशका काजी हबिबुल अवाल र माल्दिभ्सका फुवाद थोफिक आउने भएका हुन् । श्रीलंका र दक्षिण कोरियाबाट भने निर्वाचन आयुक्त आउने भएका छन् । उनीहरूलाई काठमाडौं उपत्यकाका मतदानस्थल अवलोकन गराउने तयारी रहेको सहायक प्रवक्ता भट्टराईले जानकारी दिए ।
निर्वाचन आयोगले मतदानको दिन निर्वाचन अवलोकन गर्न नेपालस्थित कूटनीतिक नियोग, विकास साझेदार संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्वाचन व्यवस्थापनको क्षेत्रमा ख्याति प्राप्त अनुभवी व्यक्ति र संस्थालाई आयोगले आमन्त्रण गरिसकेको छ । आमन्त्रण गरिएका व्यक्तिलाई आयोगले निर्वाचन अवलोकनकर्ताको परिचयपत्र उपलब्ध गराउने भएको छ ।
अवलोकनकर्ताका साथमा परराष्ट्रका सम्पर्क अधिकृत खटिने भएका छन् । निर्वाचन आयोगले राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि आह्वान गरेको थियो । यसमा ४ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाले अनुमति पाएका छन् । ४ अन्तर्राष्ट्रिय संस्थाका पर्यवेक्षक बढीमा २५ जना हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, १३ : २३
लेखकबाट थप