सिमकोट । हुम्लाका सातवटै गाउँपालिकामा शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ।
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनमा बदर मत कम गर्न निर्वाचन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा सो कार्यक्रम सुरु भएको हो।
सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले आठवटै वटाका लागि एक एक जना खटिनेगरी स्वास्थ्य स्वयम सेविकालाई मतदाता शिक्षा सम्बन्धी अभिमुखीकरण गराएर सो कार्यक्रम लागू गरिएको बताए।
आयोगको परिपत्रअनुसार गाउँपालिकाहरूले स्वास्थ्य स्वयम सेविकाहरूलाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरेको छ। अधिकृत रोकायाले अभिमुखीकरण कार्यक्रममा स्वयम सेविकाहरूलाई नमूना मतपत्रमा मतदान गर्ने तरिकाका बारेमा जानकारी गरिएको र उनीहरू सबै शुक्रबारबाटै वडा वडास्तरमा परिचालन भएको जानकारी दिए।
अभिमुखीकरणमा सेविकालाई कार्यक्रमको उद्धेश्य, महत्त्वका बारेमा समेत जानकारी गराइएको थियो। कार्यक्रमका लागि छनौट भएका स्वयम सेविकाहरू ५८ वटै मतदानस्थलका बस्तीबस्तीमा पुगेर मतदाता शिक्षाबारे मतदातालाई जानकारी गराउने र यसको महत्त्वका बारेमा सहजीकरण गर्नेछन्।
नमूना मतपत्रमा मतदान गर्ने तरिकाको बारेमा पनि सेविकाहरूलाई सिकाइएको थियो। जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख श्यामबहादुर रानाले यो कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुने र यसबाट जिल्लाको कुल बदर मत प्रतिशत घट्ने विश्वास व्यक्त गरे।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हुम्ला जिल्लामा १९ प्रतिशत मत बदर भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ कार्तिक २०७९, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहकै स्रोतबाट मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्न परिपत्र