निर्वाचनपछि गठबन्धन कायमै रहन्छ या रहँदैन भन्न सकिँदैन : बेदुराम भुसाल

सफल खबर संवाददाता

सोमबार, १४ कार्तिक २०७९, १४ : २०
निर्वाचनपछि गठबन्धन कायमै रहन्छ या रहँदैन भन्न सकिँदैन : बेदुराम भुसाल

काठमाडाैँ  । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पनि सत्तारूढ गठबन्धन कायमै रहन्छ भनेर अहिल्यै भन्न नसकिने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो टिप्पणी गरेका हुन्।

उनले सत्तारूढ गठबन्धन निर्वाचनपछि पनि कायमै रह्यो भने आफूहरूले चुनावी घोषणापत्रमा सार्वजनिक गरेको कुरा त्यही भित्र रहेर कार्यान्वयन गर्ने र नरहे बाहिर बसेर पनि जनताको प्रतिनिधिको रुपमा त्यसलाई कार्यान्वयनका लागि पहल गरिरहने प्रतिवद्धतासमेत व्यक्त गरे।

महासचिव भुसालले भने, ‘यो निर्वाचनपछि यो गठबन्धन हुन्छ वा अर्को गठबन्धन हुन्छ, अहिले त्यो भन्न सक्ने वा भनिरहने विषय हो भन्ने मलाई लाग्दैन। यही गठबन्धन रह्यो भने पनि हामी हाम्रा नीतिहरू कार्यान्वयनका निम्ति पहल गर्छौँ। योभन्दा अर्को बन्यो भने पनि हामी पहल गर्छौँ। हामी सरकारमा रहने अवस्था भयो भने हामी यी प्रतिवद्धताहरूलाई कार्यान्वयनमा उर्ताछौँ। यदि हामी सरकारमा रहेनौँ भने हामी हाम्रा आवाजहरू जनताको आवाजको रूपमा जनप्रतिनिधिको रूपमा उठाइरहन्छौँ।’

महासचिव भुसालले आधारभूत तहको शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन पनि आफूहरूले पहल गर्ने कुरा घोषणापत्रमा समावेश गरिएको पनि बताए।

प्रतिक्रिया दिनुहोस