यस वर्ष आठ नाउर र पाँच झारलको सिकार गर्न अनुमति

सफल खबर संवाददाता

शुक्रबार, २८ असोज २०७९, ०७ : २५
यस वर्ष आठ नाउर र पाँच झारलको सिकार गर्न अनुमति

बलेवा । नेपालको एकमात्र वैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार पर्यटन याम सुरु भएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउन थालेका छन् ।असोजको अन्तिम सातादेखि सुरु हुने सिकारका लागि सिकारी आरक्ष क्षेत्रमा आउन थालेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए।

सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइसकेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार यामका लागि आठ नाउर र पाँच वटा झारलको सिकार अनुमति दिएको छ ।

असोज अन्तिम सातादेखि मङ्सिरसम्म सिकार पर्यटन जारी रहनेछ । विभागले हरेक वर्ष दुई याममा गरी वार्षिक २० नाउर र ११ झारलको सिकार गर्ने गर्छ । प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज नेपाल, हिमालयन सफारिज र टपाक्स एण्ड टे«ल्स कम्पनीमार्फत अमेरिकी, मेक्सिकाली र क्यानाडाली नागरिकले सिकारका लागि अनुमति पाएका छन् ।

सिकार आरक्ष क्षेत्रलाई सात वटा ब्लकमा विभाजन गरिएको छ । पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । गत वर्ष दुई सिजनमा १८ नाउर र नौ झारलको सिकार भएको थियो ।

आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी छ ‘ब्लक’ मा सिकार गर्न अनुमति दिइएको छ । पहिलो यामका लागि बुर्तिबाङ ब्लकमा कुनै पनि सिकारीले सिकार गर्ने छैनन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयको अनुभव छ । सिकारीसहितको टोलीले १५ दिन जङ्गलमै समय बिताउँछन् ।

प्रतिक्रिया दिनुहोस