गिरफ्तार लामिछानेलाई रिहाई गर्न माग

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०७५, १४ : ०७
गिरफ्तार लामिछानेलाई रिहाई गर्न माग

चितवन । अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्ष रमेश लामिछानेलाई प्रहरी मंगलबार क्याम्पसबाट गिरफ्तार गरेको छ ।
जिल्ला अध्यक्ष लामिछानेलाई इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सोधपुछको लागि भन्दै टाँडीमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पस परिसरबाट गिरफ्तार गरेको हो । उक्त गिरफ्तारीको विरोध गर्दै अखिल (क्रान्तिकारी) चितवनका जिल्ला उपाध्यक्ष चितेनले बुधबार एक विज्ञप्ति जारी गरी झुटा मुद्दा चलाएको भन्दै तत्काल मुद्दा खारेज गरी रिहाई गर्न माग गरेका छन् ।
उपाध्यक्ष चितुनेद्वारा जारि विज्ञप्तिमा भनिएको छ ‘यतिबेला नेपालको विद्यार्थी आन्दोलन दुई ध्रुवमा विभाजन हुन पुगेको छ । एकातिर संसद्वादी विद्यार्थी संगठनहरुले विद्यार्थी आन्दोलनका विगतका उपलब्धिहरुलाई र विद्यार्थी आन्दोलन समेतलाई विघटनको दिशातिर धकेल्दै छन् भने अर्कोतिर संसद्वाद विरोधी विद्यार्थी संगठन नेपालको शैक्षिक आन्दोलनलाई नयाँ ढड्डबाट उठान गर्ने उद्घोषका साथ संघर्षमा लागिरहेका छौं ।’ साथै विज्ञप्तिमा शिक्षा क्षेत्र यतिबेला दलाल पुँजीवादको हातमा पुगेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा ‘राज्यले विचार र आस्था राखेकै कारण निर्दोष नागरिकलाई गिरफ्तार गर्ने प्रवृत्तिप्रति घोर आपत्ति जनाउँदछौं’ भन्दै ‘राज्यको यस किसिमको गतिविधिमा अनुसन्धान र खबरदारी गर्नका निमित्त मानवअधिकार आयोग चितवनलाई हार्दिक आग्रह गर्दछौ’ भनिएको छ । त्यसो त उक्त विज्ञप्ति मानव अधिकार आयोग चितवन र अखिल (क्रान्तिकारी) केन्द्रीय समितिलाई बोधार्थको रुपमा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस