हिमालय एअरलाइन्स्को विशेष उडानबाट प्रधानमन्त्रीको चीन भ्रमण दोस्रो पटक

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०७५, १८ : ०८
हिमालय एअरलाइन्स्को विशेष उडानबाट प्रधानमन्त्रीको चीन भ्रमण दोस्रो पटक

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा श्रीमती राधिका शाक्यसहित नेपाल सरकारका उच्च अधिकारी, व्यापारी तथा सञ्चारकर्मीहरु सम्मिलित टोली चीनको ६ दिने औपचारिक भ्रमणमा २०७५ साल असार ५ गते जनगणतान्त्रिक चीनकोे राजधानी बेइजिङ हिमालय एअरलाइन्सको एयरबस ३२०, नेपाली दर्ता नम्बर 9N-ALW मार्फत प्रस्थान गर्नुभएको थियो ।

उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानीय समय अनुसार ९ बजे उडेको थियो भने चीनको राजधानी बेइजिङ स्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समय अनुसार १६ः४९ (नेपाली समय अनुसार १४ः३४) बजे अवतरण गरेको थियो ।

भ्रमणमा प्रधानमन्त्रीसँगै सम्माननीय गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री  वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र सांसदहरु सहभागी थिए ।

भ्रमण टोलीका साथै विशेष उडानमा सहभागी हुनुभएका अध्यक्ष  आङ छिरिङ शेर्पा र हिमालय एअरलाइन्स्का प्रमुख कप्तान झाउ ग्वोछ्याङलाई बिदाई गर्न एअरलाइन्स्का प्रशासनतर्फका उपाध्यक्ष  विजय श्रेष्ठ त्रिभुवन विमानस्थलमा उपस्थित हुनुभएको थियो ।

उक्त अवसरमा प्रशासनतर्फका उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “हिमालय एअरलाइन्स्ले पुनः एकपटक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको औपचारिक भ्रमणका लागि लिएर उड्न पाउँदा हामी खुशी र गौरवान्वित छौ । नेपाल सरकारले हाम्रो सेवा विस्तारमा गरेको सहयोगमा हामी कृतज्ञ छौं । दोस्रोपटकको यो अवसरले हामीलाई अझै बढी मेहेनत गरेर गुणस्तरीय सेवा प्रदान गर्नुका साथै नेपाली आतिथ्य संस्कारसहित यात्रालाई सुविधा सम्पन्न, सहज र सुरक्षित बनाउन प्रतिबद्ध छौ ।”

हिमालय एअरलाइन्स्ले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप दोहा, क्वालालम्पुर, दुबई र दमाममा सिधा उडान भर्दै दोस्रो वर्ष सफलतापूर्वक पार गरेको छ । साटा गोल्ड अवार्डमा ‘नेतृत्वदायी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्– दक्षिण एसियामा यात्रुहरुको रोजाई’ विधामा अवार्ड हात पार्न सफल यस एअरलाइन्स्ले राष्ट्र सेवालाई अग्रस्थानमा राखेर अगाडि बढिरहेको छ ।

हिमालय एअरलाइन्सको बारेमा
नेपाल–चीन संयुक्त लगानीमा अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने नेपालमा सञ्चालित निजी क्षेत्रको विमानसेवा हो । पूर्ण सेवाकालीन  रुपमा उत्कृष्ट सेवा प्रदायकको रुपमा हिमालय
एअरलाइन्सले उड्डयन सुरक्षा, उडान नियमितता र मुख्य रुपमा ग्राहकको सेवा तथा सुविधालाई अझ स्तरोन्नति गर्दै लैजाने लक्ष्य राखेको छ ।

हिमालय एअरलाइन्सले आफ्ना तीनवटा ए३२० सिरिजका, मध्यम आकारका बिजनेस क्लासमा ८ र इकोनोमी क्लासमा १५८ सिट भएका जहाजहरुमार्फत हाल दोहा, क्वालालम्पुर, दुबई र दमाम गरी चारवटा गन्तव्यमा उडानहरु सञ्चालन गरेको छ ।

हिमालय एअरलाइन्सले माल्दिभ्सको इक्वेटर भिलेज, अद्दु सिटीमा अक्टोबर २८, २०१७ मा आयोजित दक्षिण एसियाली ट्राभल अवार्ड  (साटा), २०१७ मा “दक्षिण एसियाको प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा” जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । यो अवार्डले एअरलाइन्सका सेवाहरुको विकास तथा बिस्तारका लागि गरिएका प्रयासहरुलाई सम्मानित गरेको छ । साथै, यसले उड्डयन क्षेत्रमा अझ सशक्त रुपमा अगाडि बढ्न निकै पे्ररणा दिएको छ  ।

अतिथि देवो भवः अर्थात् पाहुना देवतातुल्य हुन् भन्ने नेपाली परम्परालाई आत्मसात् गर्दै हिमालय एअरलाइन्स आफ्ना सम्मानित यात्रुवर्गहरुलाई सच्चा एवम् मौलिक नेपाली आतिथ्य प्रदान गर्न सदैव प्रतिबद्घ छ ।

 

प्रतिक्रिया दिनुहोस