आख्यानले पाठकलाई सजिलै तान्न सक्छ । यसकारण विश्वसाहित्यमा आख्यानको व्यापार राम्रो छ । नेपाली साहित्यमा पनि आख्यानले राम्रै बजार लिएको पाइन्छ । त्यसैले नेपाली कविहरूसमेत आख्यानतिर लहसिन थालेका छन् । यसको दह्रो प्रमाणका रूपमा मनुब्राजाकी, सरुभक्तजस्ता पुराना पुस्तादेखि सरस्वती प्रतीक्षा, हेमप्रभासलगायतका नयाँ पुस्ताका सर्जकलाई लिन सकिन्छ ।
सुरुदेखि आख्यानमा अडिएर बस्ने सर्जक नेपाली साहित्यमा निकै कम छन् । त्यस्ता नामहरूमध्ये महेशविक्रम शाह (२०२२) पनि एक हुन् । पहिलो कथासङ्ग्रहका रूपमा सटाहा (२०५३) लिएर पाठकसामु आएका उनको चौथो कथाकृति छापामारको छोरो (२०६३) ले उनलाई मदनपुरस्कारसमेत दिलायोे । हालै उनले सातौँ कथाकृतिका रूपमा अठारवटा कथाहरू समेटी भुइँखाट (२०७४) पाठकसामु ल्याएका छन् ।
सिङ्गो संसारलाई कथाको सङ्ग्रहालय देख्ने कथाकार महेशविक्रम शाह भन्छन्, “हामी सबैसँग कुनै न कुनै कथा छ । हामी सबै पात्र हौँ कथाका ।” वास्तवमा हामीले भोगेको जीवन पनि कुनै सुन्दर कथाभन्दा कम छैन, फरक यत्ति हो त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने मात्रै । कथा टिप्न जान्नु पर्छ, टिपेका कथालाई फूललाई मालामा उनेजस्तै उन्न जान्नु पर्छ । त्यो सीप सबैमा हुन्न, जुन कथाकार शाहमा छ । उनले देशभित्र र बाहिरका विभिन्न खालका भोगाइहरूलाई भुइँखाटका कथाहरूमा प्रस्तुत गरेका छन् ।
सङ्ग्रहभित्र समेटिएका उनको भुइँखाट, निना र मध्यरातमा म्यानहटन कथामा यौनलाई विषयवस्तु बनाइको पाइन्छ, जसमा पनि भुइँखाट स्वदेशी परिवेशसँग सम्बन्धित छ भने निना र मध्यरातमा म्यानहटन विदेशी परिवेशसँग सम्बन्धित कथा हो । त्यस्तै उनका युरी र इन्डियानो, मिस्टर एनोड र मिसेज क्याथोड तथा गोल्डफिस कथा यौन कथाजस्ता लाग्ने फरक खालका कथा हुन् । ती मध्ये पहिला दुई कथा विज्ञानविषयक कथाहरू हुन्, जसमा पहिलो कथाले वि.सं. २०७२ को महाभूकम्पको कारणको खोजी गरेको छ भने दोस्रो कथाले ब्याट्री चार्ज हुने प्रक्रियालाई कथामा उनेको छ । त्यस्तै गोल्डफिस कथाले मानवेतर पात्र माछाको यौन र जीवनको कथा बुन्दै लामो समय सङ्गत गरेपछि एउटा सेतो माछा कसरी गोल्डफिस बन्छ भन्ने काल्पनिक कथा प्रस्तुत गरेका छ ।
त्यस्तै उनका अठार कथाहरूमध्ये बडा डन, गुलाफ, बिजुलीदेवी र सुपारी समाजविषयक कथा हुन् । जसमध्येबडा डन कथाले शहरमा फैलिँदै गएको गुण्डागर्दी र डनप्रवृत्तिको चित्रण गरेको छ भने गुलाफ कथाले पश्चिम तराईमा बादी महिलाले भोग्नु परेको नारकीय जीवनको चित्रण गर्नुका साथै नारीको शत्रु नारी नै हुन्छ भन्ने चरितार्थ पारेको छ । बिजुलीदेवी कथाले तराईका महिलाले चर्पीको अभावमा शौच गर्न नपाएको र गाउँम बिजुली आउनु उनीहरूको शौचकर्मका लागि घातक भएको कुरालाई कथात्मकता प्रदान गरेको छ । त्यस्तै सुपारी कथामा पैसा लिएर व्यक्तिको हत्या गर्ने प्रवृत्ति देखाउँदै अन्त्यमा आफ्नै मालिकको हत्या गरी देशलाई जोगाएको कथा नाटकीय ढङ्गले चित्रण गरिएको छ ।
कथासङ्ग्रहभित्रका थाक्पा, शीतलहर र टेपरी गाउँ जस्ता कथाले जीवनका विभिन्न अनुभूतिलाई समेटेको पाइन्छ । थाक्पा कथाले परिवार गुमाएको एउटा हिमाली प्रौढ भेँडागोठालोको जीवनको चित्रण गरेको छ भने शीतलहर कथाले नेपालको तराई क्षेत्रमा वर्षेनी हुने शीततलहरको समस्या चित्रण गर्नुका साथै राहत पाउने लोभमा आफ्नो असी वर्षका बाबुलाई राति सुतेको बेलामा बाहिर सारेर मृत्युको मुखमा पु¥याउने लोभीपापी सन्तानका रूपमा बच्चु यादवको कर्तुतलाई पनि उदाङ्गो पारेको छ । त्यस्तै टेपरी गाउँ कथामा पनि राहतकै आसमा गाउँमा बाढी पसोस् भन्ने कल्पना गर्ने पश्चिम तराईका अनपढ गाउँलेको कथा बुनिएको छ । राति गाउँमा बाढी पसेर आफ्नो सारा परिवार गुमाएको रहमलालले भोलिपल्ट राहतमा पाएको चाउचाउ हेरेर बाढीमा गुमेको सानो छोरो र आफ्नी श्रीमतीको सम्झना गरेको दारुण चित्र प्रस्तुत गरिएको छ ।
राजनीतिलाई लिएर छापामारको छोरो जस्तो उत्कृट कथासङ्ग्रह नै तयार पारेका कथाकार शाहले पछिल्लो कृति भुइँखाटमा पनि राजनीति विषयक कथाहरू समेटेका छन् । त्यस्ता कथाहरूमा सिंहदरबार, नवावगञ्ज, प्रभुको सालिक, रू. दश लाख र पचास बिडा पान पर्दछन् । ती कथाहरूमध्ये सिंहदरबार कथामा जनयुद्ध लडेका घाइते सिपाहीमा विक्षिप्तता आएका कारण मानसिक अस्पताल लैजानु परेको विषयलाई प्रस्तुत गरिएको छ भने नवावगञ्ज कथामा लोकतन्त्रप्राप्तिपछि तराइमा देखापरेको व्यक्ति अपहरण र फिरौतीका घटनाको चित्रण गर्दै मधेसी र पहाडी तथा नेपाली र भारतीयका नाममा हुने गरेको विभेदको चित्रण पाइन्छ । त्यस्तै प्रभुको सालिक कथामा जिउँदा प्रभुको सालिक बनाउन विभिन्न खालका व्यक्तिको बिम्बको खोजी गरेको र जङ्गबहादुरको सालिक उखेलेर त्यसैमा प्रभुको अनुहार खोप्ने आदेश दिएको देखाइएको छ ।
प्रभुलाई जङ्गबहादुरसँग तुलना गरिएकाले यो कथा व्यङ्ग्यकथा पनि हो । त्यस्तै रू. दश लाख र पचास बिडा पान कथाहरू तराई आन्दोलनसँग सम्बन्धित कथा हुन् । जसमा पहिलो कथाले वीरगञ्जमा करिब छ महिनासम्म आन्दोलनमा लागेको मुकेशले सरकारसँग वार्ता भङ्ग भएपछि घरपरिवारका लागि केही गर्न नसकेकाले आफू अग्रपङ्क्तिमा गएर शहीद हुने र श्रीमती फुलवालाई रू. दश लाख दिलाइदिने सपना देखेको वर्णन पाइन्छ भने पचास बिडा पान कथाले सोही तराई आन्देलनका कारण पाँच महिना आफ्नो पान पसल बन्द गर्न बाध्य जग्गुले आन्दोलन चलिरहेको बेलामा पेट भर्नका लागि पान पसल खोलेको र आन्दोलनकारीले आन्दोलनमा लागे उसको पान किनिदिने आश्वासन देखाएपछि त्यतै लागी ज्यान गुमाएको दारुण कथा बुनिएको छ ।
कथाकारले आफैँले भोगेको, देखेको, अनुभव गरेको, अध्ययन गरेको र कल्पना गरेको कुरालाई पनि कथाको साँचोमा ढालेर सुन्दर कथा रचना गर्न सक्छ । कथाको जीवन वास्तविक जीवनभन्दा पृथक् हुन्छ पनि हुँदैन पनि । कथाको जीवनलाई वास्तविक जीवनसँग तुल्य बनाउन सर्जकले मेहनत गर्न जरुरी हुन्छ । त्यसका लागि पात्रको खोजी गर्ने, परिवेश निर्धारण गर्ने र भाषाशैलीमा अनुसन्धान गर्ने जस्ता कामहरू गर्नु आवश्यक हुन्छ । कथाकार महेशविक्रम शाहले आफ्ना कथा बुन्ने क्रममा ती सबै खालका कामहरू गरेको कुरा उनको पछिल्लो कथाकृति भुइँखाटको मिहिन अध्ययन गर्ने पाठकले सहजै गर्न सक्छ । यसरी जीवनका विविध आयामको कथा रच्ने कथाकार शाहलाई अझ नवीन कथाहरू रचून् भन्ने शुभकामना ।
रमेश प्रभात
(उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर)
प्रतिक्रिया दिनुहोस