समानुपातिकको मत गणना आज सकिँदै , ४ जिल्लाको मतगणना जारी

शुक्रबार, २९ मंसिर २०७४, १० : ४६
समानुपातिकको मत गणना आज सकिँदै ,  ४ जिल्लाको  मतगणना जारी

चितवन, २९ मंसिर । प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको मतगणना आजै सकिने निर्वाचन आयोगले जनाएको छ । जारी मतगणनाको अन्तिम अवस्थासम्म आइपुग्दा केन्द्रीय संसदमा मात्र ५ दलले मात्रै राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने देखिएको छ ।
संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न प्रत्यक्षमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान तोकिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमालेले समानुपातिकतर्फ समेत सबैभन्दा धेरै मत ल्याएको छ ।
‍शुक्रबार बिहान ८ बजेसम्म ८६ लाख ८३ हजार ३४६ मत गणना भएको छ । आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो ।
गणनाअनुसार एमाले, कांग्रेस र माओवादी केन्द्रबाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मात्रै समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याउने देखिन्छ ।
समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ । राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्षतर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसद्मा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन् ।
समानुपातिकतर्फ गणनामा अहिलेसम्म एमालेले २९४०९१३ अर्थात३३.८७ प्रतिशत मत पाएको छ ।  कांग्रेसले २८५८४९३ अर्थात३२.९२ प्रतिशत मत पाउको छ । माओवादीले ११८३७०२ अर्थात१३.६३ प्रतिशत मत ल्याएका छन् । यस्तै, फोरमले ४१६५३३ अर्थात ४.८० प्रतिशत मत ल्याउँदा राजपाले ३७९२७८ अर्थात ४.३७ मत ल्याएको छ ।
गणना नसकिँदै कुन–कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने निर्वाचन आयोगले बताएको छ । समानुपातिकतर्फ ४र५ प्रतिशत हाराहारीमा मत बदर हुने अनुमान गरिएको छ । समानुपातिकको सिट बाँडफाँट गर्दा सदर भएको मतको ३ प्रतिशतभन्दा कम ल्याएका दलको मतलाई गणना गरिने छैन ।
३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिट बाँडफाँट हुनेछ । समानुपातिकमा ३ प्रतिशत नकटाउने दलले एउटा पनि सिट पाउनेछैनन् ।
प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपा समानुपातिकमा ३ प्रतिशत पुर्‍याए मात्र राष्ट्रिय पार्टी बन्न सक्छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेको विवेकशील साझा पार्टीले समानुपातिकमा ३ प्रतिशत पुर्‍यामा प्रतिनिधित्व त पाउनेछ तर प्रत्यक्षमा सिट नजितेकाले राष्ट्रिय पार्टीको मान्यता भने पाउनेछैन ।
प्रत्यक्षमा एक सिट जितेका नयाँ शक्ति पार्टी, मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिकमा पाएको मत १ प्रतिशतभन्दा तल देखिएकाले र अब गणना पनि धेरै बाँकी नरहेकाले ती दल राष्ट्रिय पार्टीको सूचीमा अटाउने छैनन् ।

७३ जिल्लाको मतगणना सकियो, ४ जिल्लाको जारी
२०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७३ जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन आयोगका अनुुसार अब ४ जिल्लामा मतगणना कार्य जारी छ ।

मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नं। २ र ३, सर्लाहीको क्षेत्र नं। २ र ३, सुर्खेतको क्षेत्र नं। १ र कैलालीको क्षेत्र नं। १ को मतगणना जारी रहेको आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जनाएको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ८८ लाख ३५ हजार ८६८ मतगणना सम्पन्न भएको छ । प्राप्त मत परिणाम अनुसार, नेकपा एमालेले २९ लाख ९७ हजार १३० मत, नेपाली काँग्रेसले २९ लाख ९ हजार २९३, नेकपा ९माओवादी केन्द्र० ले १२ लाख २ हजार ३२, संघीय समाजवादी फोरम, नेपालले ४ लाख २१ हजार ५२८, राष्ट्रिय जनता पार्टी, नेपालले ३ लाख ८३ हजार ७०६, विवेकशील साझा पार्टीले १ लाख ९९ हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार २८०, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९प्रजातान्त्रिक० ले ८३ हजार १४३, नयाँ शक्ति पार्टी, नेपालले ७६ हजार १९४, नेपाल मजदुर किसान पार्टी ५२ हजार ६९३ र अन्य दलले ३ लाख २१ हजार ८१६ मत प्राप्त गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस