बाराको टाङ्गीयाबस्तीमा बल्यो बिजुली

रासस

आइतबार, ०९ असोज २०७९, १४ : ४०
बाराको टाङ्गीयाबस्तीमा बल्यो बिजुली

जीतपुर । लामो समयदेखि अध्याँरोमा बस्दै आएका बाराको जीतपुर-सिमरा उपमहानगरपालिका- १६ स्थित टाङ्गीयाबस्तीका बासिन्दाले यस पटकको दसैँ भने उज्यालोमा मनाउन पाउने भएका छन्।

सो बस्तीमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपलब्ध गराएको छ। प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाङ्गीयाबस्तीमा वर्षौँदेखि विद्युतीकरण हुन सकेको थिएन। यसले गर्दा टाङ्गीयाबस्तीका नागरिक अध्याँरोमा बस्न बाध्य थिए।

प्राधिकरणको करिब दुई करोड ३४ लाख बराबरको लगानीमा प्रसारण लाइन पुर्‍याएर शनिबारदेखि बत्ती बालेको हो। टाङ्गीयाबस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन्।  बिजुली पुगेसँगै स्थानीय हर्षित भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, ऊर्जा सचिव, प्राधिकरणका सञ्चालक, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित उच्चस्तरीय टोलीले गत फागुनमा टाङ्गीयाबस्तीको स्थलगत भ्रमण गरी विद्युतीकरणका विषयमा स्थानीयसँग छलफल गरेको थियाे।

टोलीले टाङ्गीयाबस्तीलाई अध्याँरोमा राख्न नहुने भन्दै विद्युतीकरणको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको थियो।सोही प्रतिबद्धता व्यवहारमा कार्यान्वयन भएको भन्दै स्थानीयवासीले प्रसन्नता व्यक्त गरेका छन्। ऊर्जा मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपूर्व गरिने स्थातान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो।

प्राधिकरणका सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सहमतिबमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएर नयाँ बत्ती जडान गरिएको बताए।

प्राधिकरणले करिब सात किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटरबाटोको छेउबाट तानेको छ। रुख नकाट्नका लागि जङ्गल क्षेत्रमा कभरड कन्डक्टर/इन्सुलेटड कन्डक्टर प्रयोग गरिएको छ। टाँगियाबस्तीमा विद्युत् उपलब्ध गराउन एक सय केभिए क्षमताका चार थान वितरण ट्रान्सफर्मर जडान गरिएको छ।

प्रतिक्रिया दिनुहोस