समृद्धिका लागि कुटनैतिक सन्तुलन

आइतबार, ०३ असार २०७५, १८ : १८

बिनोदखण्ड तिमिल्सेना

सामान्यतः नेपाली राजनेताहरुको भ्रमण तिर्थाटनमा सिमित हुन्छ । कुटनैतिक माध्यमबाट ‘देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि निर्माणमा मुलतः राज्यको कार्यकारिणी र आमरुपमा राज्यका सबै अङ्ग परिपक्व भै लाग्नु पर्ने आवश्यकता एकातिर र कार्यकारी एवं राज्यका अङ्गहरु कुटनैतिक कौशलतासहितको भ्रमणमा भन्दा पनि राजकीय तिर्थाटनमा सिमित हुने र रम्ने विरासतीय यथार्थ अर्कोतिर बीचको अन्तरविरोध हल नगरी नेपालका राजकीय भ्रमणहरु तिर्थाटनमा नै सिमित भै निरीह हुने रोगबाट मुक्त हुन सक्दैनन् । खासगरी २००७ सालपछि र मुलतः २०४६ सालपछि अस्थिरताको दुश्चक्रमा फँसेको नेपाली राजनीतिले ६८ बर्षपछि स्थिरताको राजमार्ग समात्छ भन्ने आशा र विश्वासको जगमा दुईतिहाईकै हाराहारीको बहुमत पाएको छ । राजनीतिक स्थिरता, आर्थिक बिकास सहितको समृद्धि र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको ‘कसम’ सहित सत्तारोहण भएको बाम सरकारका प्रमुख प्रधानमन्त्री के.पी. शर्मा ओलीको आसन्न चीन भ्रमणले ‘परम्परागत अस्थिर सरकारहरु’ को कुटनैतिक निरन्तरतालाई क्रमभङ्ग गर्न सक्नु पर्दछ । सम्बन्धको गहिराई उत्तर र दक्षिणमा बराबरी देख्न सकिने गरी पहलकदमी लिनु पर्दछ ।  
भ्रमणको विरासत
विगतमा देखिने राजकीय भ्रमणहरुकै निरन्तरताजस्तो देखिने ५४ सदस्यीय जम्बो टोलिको नेतृत्व गर्दै संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछिका प्रथम निर्वाचित प्रधानमन्त्री  केपी शर्मा ओलीले ३ दिवसीय भारत भ्रमण गरेको ७२ दिनपछि उत्तर छिमेकी जनगणतन्त्र चीनको भ्रमणको साईत तय गरेका छन् । बामगठबन्धनको नेतृत्वमा र मुलतः भारतप्रति कडा रुझानकै आधारमा सत्तासीन बन्ने मौका पाएको ठानिएका नवगठित नेकपाका दुईमध्येका एक अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको भ्रमणको सफलताका कडीहरु ‘समृद्ध नेपाल सुखी नेपाली’ को निर्माणसँग पनि जोडिएका छन् ।
हाम्रो अनन्य छिमेकी मुलुक भारतसँग चिसो रहेको ठानिएको सम्बन्धमा दुई देशका प्रधानमन्त्री ओली र मोदीको ‘भ्रमण एक्सेन्ज’ पछि दक्षिणसँगको सम्बन्धमा न्यानोपन र विश्वास बढेको ठानिएको पृष्ठभूमिमा यो उत्तर दिशाको भ्रमण तय भएको छ । दक्षिणमा आर्जित विश्वासहरुमा कुनै किसिमको ‘घुन पुत्ला’ नलागिकन उत्तरमा ‘नोटिसेवल रिलेसन बिल्ड’ गर्नु पर्ने आवश्यकता नै आसन्न ओली भ्रमणको मुख्य चुनौती हो । के ओलीलाई त्यस्तो सफलता मिल्ला वा उनी सफल भ्रमणकर्ता बन्न सक्छन् ? आमचासोको विषय छ । नेपालको आवश्यकता र समृद्ध नेपालको आर्थिक जग बसाउन उनी सफल बन्नुको विकल्प भने छैन ।
‘ब्यावहारिक कुटनैतिक कुशलता’ प्रदर्शन गरी मुलतः पारवहन (तेश्रो विश्वसँग पहुँचका लागि), यातायात (ओविओआर सडक सञ्जाल र रेल समेत), जलश्रोत (मेघा जलविद्युत परियोजना) र पर्यटन प्रवद्र्धनमा कार्यमुलक प्रगति नगरी फर्कन नमिल्ने अवस्थामा प्रधानमन्त्रीको भ्रमण हुन गैरहेको छ । यसका लागि ओलीले परम्परागत विरासतहरु र ‘तिर्थाटन भ्रमण’ को परिधिबाट माथि उठ्नै पर्छ । त्यही अनुसारको तयारीका साथ भ्रमणमा जानु पर्दछ ।
अवसरहरुको चाङ
चीनसँग सीमा जोडिएका चौध देशहरुमध्ये आठ वटा देश भुपरिवेष्टित छन् । नेपालले पनि अन्य देशहरुसरह नै पारवहन अधिकारको माग गर्नु कुनै नाजायज वा अति होइन । अर्कोतिर चीन स्वयंले पनि ‘एक क्षेत्र एक सडक’ को नारासहित सडक सञ्जाल बिस्तार गर्न चाहेको सन्दर्भसँग नेपालले अधिकतम लाभ लिन सक्ने कार्ययोजनाका साथ प्रस्तुत हुनु पर्दछ । पारवहन र यातायातका योजना छिट्टै कार्यान्वयन गर्न सकिने अवसरसहित उपस्थित छन् ।
चुनावपूर्व ओली स्वयंका अभिव्यक्तिहरु, भूकम्प २०७२ पछिको बहुचर्चित नाकाबन्दीमा ओलीले अडान लिएको ठान्नेहरु र वामपन्थीहरूले नेपालमा चिनियाँ कार्ड प्रयोग गरिरहेका छन् भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुटनैतिक विश्लेषकहरुलाई सुन्दा, पढ्दा र मनन गर्दा ओलीको भ्रमणले उत्तर छिमेकीसँग आशातित सम्बन्ध सहजै बनाउँछ भन्नेहरुको कुनै कमी छैन ।
नेकपाका एउटा अध्यक्ष प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा उत्तरबाट भ्रमण प्रारम्भ गर्दा उनले भोगेको कुटनैतिक भूकम्पको धक्का पुनः नेकपाका अर्का अध्यक्ष प्रधानमन्त्री ओलीले महसुुस गर्न नपरोस् भनी अनुभवको लाभ ओलीलाई प्राप्त भएको छ । यसको उपयोग गर्न ओली सफल भएका छन् ।
हामीलाई काम चाहिएको छ । कुटनैतिक सन्तुलनसहितको छिमेकीहरुसँगको विश्वासयोग्य सम्बन्ध चाहिएको छ । यस मानेमा पनि सकारात्मक परिवेश तयार भएको छ । यसैले अहिलेको भ्रमण दक्षिण र उत्तर छिमेकी बीचमा पुल बन्ने नेपालको वर्तमान कुटनैतिक  आवश्यकताको दिशाबोध गर्न, भारतसँगको सम्बन्धमा न्यानोपना विकसित भएको ‘ठानिएको’ अवसरको जगमा र विगतमा “प्रचण्ड, मोदी र सि जिनपिङ“ बीच भारतको गोवामा भएको वार्ताको स्पिरिटलाई र मर्मलाई पदचिन्ह बनाउन सफल भएमा ओलीको भ्रमण साँच्चिकै कुटनैतिक भ्रमण हुनेछ । सफल भ्रमणको रुपमा इतिहासमा दर्ज हुनेछ ।
समानुपातिक निर्वाचनसहितको नेपालको संबैधानिक ब्यवस्थालाई हेर्दा इतिहासमा विरलै प्राप्त हुने दुईतिहाई बहुमतको सरकार ‘विश्वास’ को अर्को आधार हो । ‘बोल्ड कुटनैतिक डिसिजन’ लिएको कारणले सरकारको जग हल्लने सम्भावना छैन ।
उत्तर छिमेकी स्वयं ‘वान बेल्ट वान रोड’ कार्यक्रममार्फत सम्बन्ध बिस्तारमा आतुर छ । ब्यापार सम्बन्ध, राजनीतिक परिवेश र सामरिक दृष्टिले समेत एक ध्रुवीय ठानिएको विश्वमा महत्वपुर्ण बदलावका संकेतहरु देखिएका छन् । हालमात्र अमेरिकाले चीन, युरोप, क्यानडा र भारत लगायतका देशबाट गर्ने आयातमा थप कर लगाएको सन्दर्भमा चीन र भारतले ‘एकसाथ मिलेर प्रतिवाद गर्ने’ समाचारहरु सार्वजनिक भएका छन् । उत्तर कोरियाजस्तो ‘अतिवादी’ मानिएको शक्तिसँग समेत अमेरिका वार्ताको प्रकृयामा छ । चीन, रुस लगायतको सहकार्य देखिएको छ । सामारिक वा राजनीतिकभन्दा पनि ब्यापारिक कुटनीतिमा संसारभर सकृयता देखिएको छ । यी सबै परिदृष्यबाट नेपालका लागि क्षेत्रीय र विश्वपरिवेश अनुकुल रहेको छ ।
आमअपेक्षा
नेपालका प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणलाई विगतमा भारत भ्रमणको बेला लागेको ‘अनावश्यक र फजुल’ भन्नेहरुको मुख थुन्ने गरी तयारी गर्न भरमग्दुर प्रयत्न गर्नै पर्दछ । जननिर्वाचित सरकार प्रमुखको हैसियत र सरकारको कार्यारम्भको स्थितिलाई विश्लेषण गर्दा अहिलेसम्म काम गर्ने तयारी मात्रैमा सिमित भएको अवस्था हो । च्ुानावपूर्व गरेका वाचा र अहिलेको कार्यप्रगति बीचमा ठुलो खाडल रहेको छ । अतः उत्तेजना वा अहम्ले भन्दा योजना र कार्यक्रमले जवाफ दिने कुरामा कुटनैतिक पहल हुन जरुरी छ । जे सुकै होस्, आसन्न बेईजिङ्ग यात्राका क्रममा सि जिनपिङ र के.पी. ओलीबीच हुने वार्तामा ओलीले देखाउने परिपक्वताले उनी स्वयंले चुनावपूर्व वाचा गरेको “राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको“ मार्गलाई विचलित र दिशाहीन नबनाओस् । उत्तर दक्षिण दुबै छिमेकीबीच समदुरी र समन्वयात्मक सम्बन्ध निर्माणका आधार पहिल्याउन ओली नचुकुन् । यो हामी नेपालीको आमअपेक्षा रहेको छ ।
देशको धरातलीय यथार्थ र आवश्यकतालाई बुझेर उत्तर दक्षिणको ब्यापारिक ट्रान्जिट प्वाईन्ट सहितको साढे दुई अर्ब जनसंख्याको ल्यान्डलिङ्क नेपाललाई बनाउन ओली सक्षम हुनेछन् । ‘ल्याण्डलक’ लाई ‘ल्याण्डलिङ्क’ को रुपमा बदल्न सकेमा नेपालले समृद्धि सहितको समाजवादको यात्रा तय गर्नेछ ।
भ्रमणका क्रममा दुई ठुला अर्थतन्त्र, दुई ठुला विशाल जनसंख्या, दुई विशाल भुगोल र दुई ठुला विशाल सामरिक सामथ्र्य हासिल गरिसकेका छिमेकीहरु भारत र चीनबीचको आर्थिक ट्रान्जिट प्वाईन्टका रुपमा नेपाललाई विकास गर्ने कुरामा नै नेपाली टिम र टिम लिडर ओलीको ध्यान केन्द्रित हुनुपर्छ । विगतमा पृथ्वीनारायण शाहको पालाबाट नै अवलम्बन भएको नेपाल दुई ढुङ्गाबीचको तरुल हो भन्ने कुटनैतिक मान्यतामा र सोचमा परिवर्तन गर्नु नै अहिलेको कुटनैतिक आवश्यकता हो । बरु नेपाल दुई ठुला भुगोलहरु बीचमा बगेको नदी हो । दुई किनाराहरु जोड्ने पुल पनि नेपाल हो । नेपालले यो भूमिका निभाउन सकेमा नै नेपाल, भारत र चीन तीन वटै देशको आर्थिक समृद्धिमा टेवा पुग्नेछ । त्यतिमात्र हैन एसियाको स्थायित्व र आर्थिक समृद्धिमा पनि यो कुटनैतिक सम्बन्धको फल फल्नेछ ।  चिनियाँ उत्पादनहरु विशाल जनसंख्या भएको भारतमा र भारतीय उत्पादनहरु विशाल जनसंख्या भएको चीनमा आदानप्रदान गर्ने पुलको रुपमा हाम्रो छिमेकीहरु लाभान्वित हुन सक्नु समग्र मानव जातिको भविष्य निर्माणको सवाल हो । यो दिशाबोध गराउन सक्नु नै ओली भ्रमणको सफलताको सूचक हुनेछ ।
अन्तमा,
प्रधानमन्त्री ओली नेपालको राजनीतिक इतिहासमा जननिर्वाचित शक्तिशाली प्रधानमन्त्री हुन् । इतिहासमा यस्तो अवसर विरलै प्राप्त हुन्छ । करिब दुईतिहाई जनमतबाट निर्मित सरकारको प्रमुखले झुकेर वा लत्रेर होइन, उच्च मनोभावका साथ तर्कसंगत विचारहरुबाट विश्वास आर्जन गर्नु पर्दछ । कुटनैतिक कार्य र सम्झौताहरु आदान प्रदान र लेनदेनका विषय पनि हुन् । यस क्रममा झुकेरमात्र सफलता हात लाग्दैन । नझुक्नुको अर्थ ठड्यउरो हुनु कदापि होइन । कुटनैतिक शालिनतासहित रणनैतिक दृढता र कार्यनैतिक लचकतामा प्रधानमन्त्रीलाई सफलता मिलोस् । जनअपेक्षा बमोजिम चीनसँगको सहकार्यमा पारवहन, सडक सञ्जाल, यातायात, रेलमार्ग, जलश्रोत विकास र पर्यटन प्रवद्र्धनसहितका दुई पक्षीय हितमा सफलता मिलोस् । शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस