भरतपुर महानगरलाई समृद्ध बनाएर विकासको नमूना प्रस्तुत गर्नेछु : दाहाल

सफल खबर संवाददाता

आइतबार, ०३ असार २०७५, १७ : ५७
भरतपुर महानगरलाई समृद्ध बनाएर विकासको नमूना प्रस्तुत गर्नेछु  : दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरलाई समृद्ध बनाएर विकासको नमूना प्रस्तुत गर्ने बताएकी छिन् ।  निर्वाचित भएको १ वर्ष बितिसक्दा पनि ऐन नियमको अभाव, देशमा प्रदेश र संघीय निर्वाचन पनि यही वर्ष भएको कारण पनि देखाउने खालका त्यति धेरै काम गर्न नसकिएको उनी स्वयम् स्वीकार गर्छिन । तर, विभिन्न समस्या र बाधाका बाबजुद पनि केही गौरबका योजना भरतपुर महानगरले अघि बढाएको छ भन्छिन् मेयर दाहाल । उनका अनुसार निर्वाचित भएर आएपछि १ वर्षमा २ सय वटा सडक कालोपत्रे सम्पन्न भएका छन् ।

भर्खरै सहरी विकास मन्त्रालयबाट २ अर्ब रुपैयाँ रकम आएको छ । यो रकम पनि १० वटा सडक निर्माणमै खर्च गरिने छ । त्यसका लागि टेण्डर गरिएको छ र अब सो काम पनि छिट्टै सुरु हुने उनले बताइन् ।  विगत लामो समयदेखि भरतपुर महानगरलाई सुन्दर र व्यवस्थित बनाउन मुख्य बजार क्षेत्रबाट फुटपाथको व्यवसाय हटाउने बिषय कुरामा मात्र सीमित थियो । तर, आफूले सो कार्य गरेर देखाएको मेयर दाहालको भनाई छ ।



नारायणगढ र भरतपुर क्षेत्रबाट ६ किलोमिटरको दुरीमा रहेको फुटपाथ व्यवसायलाई हटाएर व्यवस्थित गरिएको छ । बालकुमार कन्या माविको ६ कठ्ठा जमिन ५ वर्षका लागि भाडामा लिएर त्यहाँ फुटपाथ व्यवसायीलाई व्यवस्थित गरिएको छ । यसरी फुटपाथ व्यवस्थित गराउँदा महानगरको सौन्दर्य पनि बढेको मेयर दाहाल बताउँछिन् ।

भतरपुर महानगरले गौरबको योजना अन्तरगत २० नम्बर वडामा राष्ट्रियस्तरको चित्रवन रंगशाला निर्माण कार्य शुरु गरेको छ । त्यसैगरी महानगरमा ठूला कार्यक्रम गर्ने सभाहलको अभाव खड्किएकोले सिटी हल निर्माणका लागि जग्गा खोजी भइरहेको उनको भनाइ छ । त्यस्तै, फोहोरमैला व्यवस्थापनको कामलाई पनि भरतपुर महानगरले गौरबको योजना अन्तरगत काम अघि बढाएको छ ।

भरतपुर २ मा रहेको जलदेवी वन क्षेत्रलाई फोहोर मैला विसर्जन गर्ने स्थल बनाइएको छ । जहाँ २६ करोडको लागतमा फोहोरबाट उर्जा परियोजना सञ्चालन गरिँदैछ । सो परियोजना निर्माणका लागि ६० प्रतिशत महानगरले लगानी गर्दैछ भने ४० प्रतिशत बैकल्पिक उर्जाले अनुदान दिने सम्झौता भइरहेको मेयर दाहालले जानकारी दिइन् ।

यता, भरतपुर महानगरले आयमूलक योजना अन्तरगत नारायणगढ क्षेत्रमा बहुतले व्यवसायिक केन्द्र निर्माण गर्दैछ । जसले भतरतपुर महानगरको आम्दानीको श्रोत बढ्ने उनको विश्वास छ ।

महानगरका मेयर दाहालका अनुसार भरतपुर महानगरको विकासका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका संघ संस्थाले चासो देखाएका छन् । भौतिक पूर्वाधार निर्माणका लागि अहिले भरतपुर महानगर क्षेत्रमा सार्वजनिक जग्गा कहाँ कति छ भन्ने खोजी कार्यपनि शुरु भएको छ ।

कुन ठाउँमा औद्योगिक केन्द्र निर्माण गर्ने, कुन ठाउँलाई कृषि, कुन ठाउँलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्ने भन्ने कुरामा गुरुयोजना बनाएर कामको थालनी गर्ने मेयर दाहालको योजना रहेको छ । हालै मात्र भरतपुर महानगरको विकास गुरुयोजनाः चुनौति र संभावना विषयका कार्यशाला गोष्ठी गरिएको उनले बताइन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भएको सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, आयोगका पूर्व सदस्य डा. सुनिलबाबु श्रेष्ठ र सहरी पूर्वाधारविद् डा. सूर्यराज आचार्यको समेत सहभागिता रहेको थियो ।

भरतपुर महानगरमा स्काई रेलको निर्माण, नारायणी र राप्ती नदीमा जलयात्राको लागि पूर्वाधार विकास गर्ने गरी पर्यटन व्यवसायको प्रबद्र्धन गरी रोजगारीको समेत सिर्जना गर्ने र देशकै मध्ये भागमा रहेको हुँदा पेट्रोलियम पदार्थ भण्डार गर्ने स्थल निर्माण लागि संघीय सरकारले समेत चासो देखाएको मेयर दाहाल सुनाउँछिन् ।

यता, चीनको सेन्टर साउथ युनिभर्सिटीले भरतपुरका २० जना छात्रछात्रालाई पूर्ण छात्रबृत्ति र ५० जनालाई आंशिक छात्रबृत्ति दिएर डाक्टर, इन्जिनियर लगायतका विभिन्न संकायमा पढ्ने अवसर प्रदान गर्ने बारेको संझौता भएको समेत उनले सुनाइन् ।

२०३५ सालमा नगरपालिका घोषित अहिलेको भरतपुर महानगरमा २९ वडा रहेका छन् । भरतपुर महानगर ४३२.९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०६८ सालको जनगणना अनुसार भरतपुर महानगरको जनसंख्या २ लाख ८० हजार ५ सय २ रहेको छ । भरतपुर महानगरमा ६९०३५ घरधुरी वसोबास गर्छन् । भरतपुर महानगरको साक्षरता प्रतिशत ८५.६३ रहेको छ ।

अब चाँडै भरतपुर महानगरको बृहत्तर विकासको गुरुयोजना तयार हुने मेयर दाहालको भनाई छ । आफू निर्वाचित भएको १ वर्ष पूरा भएको छ । ‘अब मेरो ४ वर्षे कार्यकाल बाँकी छ, यो अवधीमा भरतपुर महानगरलाई समृद्ध बनाएर विकासको नमूना प्रस्तुत गर्नेछु,’ उनी भन्छिन् ।

प्रतिक्रिया दिनुहोस