ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी

पत्रपत्रिकाबाट

आइतबार, ०३ असार २०७५, ०८ : १०
ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी

पछिल्ला वर्षमा तीन अर्बको औसतमा लगानी आइरहेकोमा यस वर्ष १० महिनामै ४३ अर्ब

चितवन । पछिल्लो समय नेपालमा चीनको लगानी उल्लेखनीय रूपमा बढ्दै गएको छ । नेपालको उद्योग, जलविद्युत्, होटेलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको हो । उद्योग विभागका अनुसार हालसम्म नेपालमा २ खर्ब ६२ अर्ब ८१ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । यसमध्ये करिब ४० प्रतिशत लगानी हिस्सा चीनको छ । हालसम्म चीन (हङकङ र ताइवानसमेत)ले नेपालमा १ खर्ब ५ अर्ब ७६ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरेको छ । जब कि भारतको लगानी प्रतिबद्धता ८६ अर्ब ८६ करोड रुपैयाँ रहेको विभागको तथ्यांक छ ।

चालू आर्थिक वर्षको १० महिनामा नेपालमा ४९ अर्ब ८७ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । विभागमा आएको लगानी प्रतिबद्धतामा चिनियाँ हिस्सा झन्डै ९० प्रतिशत रहेको छ । अर्थात् उक्त १० महिनामा चीनले नेपालमा ४३ अर्ब १० करोड रुपैयाँबराबरको लगानी गर्ने प्रतिबद्धता गरेको हो ।

सम्मेलनबाट ८ खर्ब प्रतिबद्धता
गत वर्ष सरकारले आयोजना गरेको विदेशी लगानी सम्मेलनमा सहभागी चिनियाँ कम्पनीले नेपालमा ८ खर्ब रुपैयाँ लगानी गर्न इच्छा देखाएका थिए । सम्मेलनमा सहभागी आधा दर्जन कम्पनीले जलविद्युत्, सुरुङमार्ग, सडक तथा एयरपोर्टलगायत क्षेत्रमा ८.३ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता गरेका थिए । सम्मेलनमा कुल १४ खर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । त्यसमध्ये करिब ६० प्रतिशत लगानी प्रतिबद्धता हिस्सा चीनको थियो ।

निजी क्षेत्रस्तरमा ४० अर्बको संयुक्त लगानी सम्झौता हुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा नेपालको दुई मुलुकको निजी क्षेत्रबीच नेपालमा ४० अर्ब रुपैयाँ लगानी गर्नेबारे समझदारी हुने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको अवसर पारेर कम्तीमा तीनवटा जलविद्युत् परियोजनामा संयुक्त लगानी गर्ने गरी समझदारी हुने निश्चित भएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

‘नेपालमा ठूलो लगानी गर्न चिनियाँहरू इच्छुक देखिएका छन्, जलविद्युत्लगायत क्षेत्रमा चिनियाँ लगानी ओइरिँदै छ,’ उनले भने, ‘सरकारले अनुकूल वातावरण बनाउनुका साथै सहजीकरण गरेर लगानी भित्र्याउनुपर्छ ।’ उक्त तीनवटा परियोजनाबाहेक पनि सिमेन्टलगायत अन्य उद्योगमा समेत संयुक्त लगानीको सम्झौता हुन सक्ने उनले बताए ।

वर्षमै दर्जन व्यापारिक भ्रमण
बितेको एक वर्षमा नेपालमा करिब एक दर्जन चिनियाँ प्रतिनिधिमण्डलले आर्थिक–व्यापारिक भ्रमण गरेका छन् । अखिल चीन उद्योग वाणिज्य महासंघ, ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्म, चीनको प्रान्तीय उद्योग वाणिज्य संघहरूलगायत निजी संघसंस्था तथा सरकारी टोलीले नेपालमा भ्रमण गरेका छन् । उनीहरूले नेपाल सरकार र निजी क्षेत्रसँग व्यापार तथा लगानीका विषयमा छलफलसमेत गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिमण्डलले पनि थुप्रैपटक चीन भ्रमण गरेका छन् । निजी क्षेत्रका एक–अर्को मुलुकको भ्रमणका क्रममा समेत नेपालमा चीनको लगानी वृद्धिका लागि छलफल तथा वार्ता हुने गरेको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

नेपालमा चिनियाँ टोलीको आर्थिक–व्यापारिक भ्रमण
जेठ ०७४ मा नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा नेपाल चीन गैरसरकारी सहयोग मञ्चको १४औँ बैठक काठमाडौंमा आयोजना भएको थियो । कात्तिक ०७४ मा चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फिङ सिआओको नेतृत्वमा १२ सदस्यीय टोलीले नेपाल भ्रमण गरेको थियो ।

माघ ०७४ मा ग्वाङजाओका लागि नेपाली महावाणिज्यदूत रवि भट्टराईको समन्वयमा चिनियाँ ६ सदस्यीय टोली नेपाल आएको थियो । माघ दोस्रो सातामै सिसिपिआइटी साङडोङका उपाध्यक्ष लिउ सिओजिआङको नेतृत्वमा सात सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको थियो ।

काठमाडौंमा आयोजना भएको अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुन फागुन ०७४ मा चीनको लिन्यी सिटी सिपिपिसिसीका उपाध्यक्ष ली चोङताओको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल आएको थियो । सोही कार्यक्रममा सहभागी हुन चीनको वाणिज्य मन्त्रालयको व्यापार विकास विभागका उपनिर्देशक चीन होङ पनि सहभागी थिए ।

चैत ०७४ मा चीनको ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्मका संस्थापक सु याको नेतृत्वमा एक प्रतिनिधिमण्डल आएको थियो । जेठ ०७५ मा चीनको कुइचाओ प्रान्तको कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाङ चाओको नेतृत्वमा व्यापारिक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको थियो ।

रणनीतिक रूपमा चीनले नेपालमा लगानी बढाएको छ
महाप्रसाद अधिकारी
प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल

विश्वमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मुलुकमध्येमा चीन पनि अग्रपंक्तिमा आउँछ । चीनले रणनीतिक रूपमै विश्वभर लगानी बढाइरहेको छ । नेपालमा पनि चीनले लगानीका लागि आसय प्रतिबद्धता मात्रै होइन ‘रियल लगानी’ पनि बढाइरहेको छ । नेपालमा पनि चीनले रणनीतिक रूपमै लगानी बढाएको छ । खासगरी जलविद्युत् र पूर्वाधारमा चीनको चासो बढी छ । अहिले सिमेन्टमा चीनले लगानी गरेको छ । नेपालमा लगानी बढाउन चीन र भारतबीच प्रतिस्पर्धा भएजस्तो पनि देखिन्छ । यो हाम्रो लगानी राम्रो पक्ष हो ।

चीनले भारतीय बजार हेरेर नेपालमा लगानी बढाइरहेको छ
शंकर शर्मा
पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग

चीनले रिजर्भ बढी भएका कारण विदेशमा लगानी गर्दा पनि इन्सेन्टिभ दिन थालेको छ । उच्च आर्थिक वृद्धि र समृद्धि हासिल गरेका कारण उसले विश्वभर लगानी पनि बढाइरहेको छ । सोही क्रममा नेपालमा पनि लगानी बढाएको हो । अझ नेपाललाई भारतले दिएको शून्य भन्सार दरको बजार उपयोग गर्न पनि चीनले नेपालमा लगानी बढाएको हुनुपर्छ । अर्कोतर्फ नेपालमा लगानीको वातावरण बढ्दै गएको र नेपालले पनि चिनियाँ लगानी भित्र्याउन पहल गरेकाले उसको लगानी बढेको हो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस