चितवन । युवाहरूले चितवनमा विद्युत्को ‘डिजिटल स्मार्ट स्वीच’ प्रविधिको उत्पादन सुरुआत गरेका छन् । नवलपुरको गैँडाकोटमा अवस्थित अक्स्फोर्ड कलेजबाट बीई इलेक्ट्रिकल इञ्जीनियरिङ पढेका तीन युवाले विद्युत्को डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन सुरु गरेका हुन् ।
स्वीचलाई विभिन्न तीनवटा माध्यमबाट नियन्त्रण गर्न सकिने गरी प्रविधि विकास गरिएको सञ्चालक जीवन दबाडीले बताए । डिजिटल स्मार्ट स्वीचलाई औँलाले छोएर, रिमोटबाट तथा मोबाइल एप्समार्फत विद्युतीय उपकरणको सञ्चालन तथा बन्द गर्न सकिने उनको भनाइ छ । एडभान्सटेक इन्डस्ट्रिज प्रालिमार्फत ती युवाले डिजिटल स्मार्ट स्वीच बोर्डको ‘डिजाइन तथा सफ्टवेयर’को विकास गरेका हुन् ।
भरतपुर–१६ मोहनपुरमा जग्गा भाडामा लिएर २८ लगानीकर्ताको रु १० करोडभन्दा बढी लगानीमा डिजिटल स्मार्ट स्वीच बोर्डको उद्योग सञ्चालन गरिएको उद्योगका अध्यक्ष सुनीलकुमार यादवले बताए । अहिले उद्योगले घरायसी प्रयोजनका लागि डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गरेको भए पनि चाँडै नै उद्योग तथा व्यवसायसहित सम्पूर्ण स्थानमा प्रयोग हुने गरी उत्पादन थालिने उनको भनाइ छ । उद्योगको अहिले दैनिक दुई हजार पाँच सय डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गर्ने क्षमता रहेको जनाउँदै उनले जनशक्ति थप गरेर उत्पादनसमेत वृद्धि गरिने जानकारी दिए ।
उद्योगले पहिलो चरणमा नौ थरिका स्वीच बोर्ड बजारमा ल्याएको छ । अध्यक्ष यादवले फरक दुई आकारका आकर्षक स्वीच बोर्ड उत्पादन भएको जानकारी दिए । करिब पाँच वर्ष परीक्षण तथा अनुसन्धानपछि उत्पादनलाई बजारमा लैजान लागिएको जनाइएको छ ।
विसं २०७४ मा कलेजको बीई अन्तिम वर्षको ‘प्रोजेक्ट वर्क’ गर्दा माडीका जीवन दबाडी, सप्तरी राजविराजका सुनिलकुमार यादव र बारा निजगढका सागर तिमिल्सिनाको समूहले स्वीच बोर्डको अवधारणाबारे ‘प्राजेक्ट’ बनाएका थिए । अध्ययनकै सिलसिलामा सिकेका कुरालाई व्यवहारमा उतार्न उद्योगको रूप दिइएको उनीहरूको भनाइ छ । उद्योगका उत्पादन प्रमुख दबाडीले फाइभ जी टेक्नोलोजीमा आधरित स्वीच बोर्डले विस्तारै उपभोक्ताको मन जित्ने बताए ।
बत्ती, पङ्खा, फ्रिज, टिभीलगायतका सम्पूर्ण विद्युतीय उपकरणलाई मोबाइल एप प्रयोग गरी फोनको सहायताले चलाउन वा बन्द गर्न मिल्ने सुविधासमेत स्मार्ट स्वीचमा रहेको उनको भनाइ छ । आकर्षक डिजाइनमा तयार रहेका स्मार्ट स्वीच बोर्डको बजारीकरण कार्य शनिबारदेखि नै सुरु भएको जनाइएको छ ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विद्युतीय बजारमा नयाँ प्रविधि भित्रिएको बताए । आर्थिक केन्द्रका रूपमा विकास भइरहेको चितवनबाटै पहिलोपटक स्मार्ट स्वीच बोर्डको व्यावसायिक उत्पादन सुरु हुनु खुसीको कुरा भएको उनको भनाइ छ । चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले घरायसी तथा उद्योग, व्यवसायमा नयाँ प्रविधिको आवश्यकता भएको बताए । स्मार्ट स्वीचले सहजता ल्याउने उनको भनाइ छ ।
नेपाल विद्युत् व्यवसायी महासङ्घ नेपालका निर्वतमान अध्यक्ष तेजनारायण खरेलले आंशिकरूपमा नेपालमा स्मार्ट स्वीच बोर्ड प्रयोगमा आए पनि पहिलोपटक उत्पादन सुरु भएकामा खुसी व्यक्त गरे। समयसापेक्ष डिजिटल स्वीच बोर्ड उत्पादन चितवनबाट हुनु गौरवको विषय भएको उनले बताए । उत्पादित डिजिटल स्मार्ट स्वीच बोर्डको मूल्य रु चार हजारदेखि आठ हजार पाँच सयसम्म रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ भदौ २०७९, ०७ : ४२
लेखकबाट थप