केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १६ : ०८
केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । मध्यक्रमका राकेप पटेल र कोलिन्स यबुयाले अर्धशतक बनाएपछि पहिलो एकदिवसीयमा केन्याले नेपालसामू २१९ रनको लक्ष्य पेश गरेको छ ।

नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको हो । केन्याले सुरुवाती ४ विकेट सस्तैमा गुमाएको थियो ।

पाँचौं विकेटका लागि राकेप र कोलिन्सले १३० रनको शतकीय साझेदारी गरी पारी उकासेका थिए ।सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इण्डिज गएपछि रोहितकुमार पौडेलले कप्तानी गरेको यो खेलमा यी दुईको साझेदारी तोड्न नेपाली बलरलाई निकै कठिन भयो ।

राकेपले ७५ बलमा ७ चौका र २ छक्कासहित ६७ रन बनाए । कप्तान रोहितले रनआउट गर्नुअघि कोलिन्सले ११६ बलमा ४ चौका र २ छक्कासहित ६२ रनको संयमित पारी खेले ।

केन्याका लागि इरफान करिमले ३१ र सचिव बोधियाले २७ रन थपे । बलिङतर्फ सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए । आदिल आलम र पवन सर्राफले १–१ विकेट लिए । पाँच टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले जितेपछि नेपालले केन्यासँग तीन एकदिवशीय खेलको शृंखला खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस