नेपालमा हुने महिला साफ च्याम्पियनसिपकाे सम्पूर्ण तयारी पूरा

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १५ : ०९
नेपालमा हुने महिला साफ च्याम्पियनसिपकाे सम्पूर्ण तयारी पूरा

काठमाडौं । अर्काे हप्तादेखि नेपालमा हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियाेगिताकाे सम्पूर्ण तयारी पूरा भएकाे छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै २१ भदाैदेखि ३ असाेजसम्म हुने प्रतियाेगिताकाे सम्पूर्ण तयारी पूरा भएकाे जनाकारी गराएकाे हाे ।प्रतियाेगिताका सम्पूर्ण खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् ।

दक्षिण एसियाली फुटबल महासंघ(साफ) ले प्रतियाेगितामा सहभागी ७ टाेलीलाई २ समूहमा विभाजन गरेकाे छ ।समूह `बी´मा आयोजक नेपाल श्रीलंका र भुटान छन् । समूह `ए´मा साबिक विजेता भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन् । प्रतियोगिता सञ्चालनमा ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ खर्च हुने एन्फाको अनुमान छ ।

त्यसमध्ये सहभागी टोली र म्याच अफिसियलको खाना र बसोबासको खर्च दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले गर्नेछ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार मैदान तयारी, यातायात र अन्य खर्च एन्फाले गर्नेछ । 

प्रतियाेगिताका लागि साफले २ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराएको एन्फाले बताएको छ ।गएकाे ६ असारमा निर्वाचित नयाँ एन्फा कार्यसमितिले पहिलो प्रतियोगिताका रूपमा साफ च्याम्पियनसिप आयोजना गर्दैछ । 

नेपालमा दोस्रो पटक आयोजना हुने च्याम्पिनसिप काठमाडौंमा भने पहिलो पटक हुँदैछ । यसअघिको संस्करण विराटनगरमा आयोजना भएको थियो । त्यसको फाइनलमा भारतले नेपाललाई ३–१ ले हराएको थियो ।

च्याम्पियनसिपका लागि भुटान र पाकिस्तानी टोली नेपाल आइसकेका छन् । भारत र श्रीलंकाकाे टोली शनिबार तथा माल्दिभ्स र बंगलादेश आइतबार आइपुग्ने एन्फाले जानकारी दिएको छ । च्याम्पियनसिप आयोजनाका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन गरिएकाे छ  ।

एन्फाले च्याम्पियनसिपको टिकेटिङ, मार्केटिङ र ब्रोर्डकास्टिङ अधिकार भारतीय कम्पनी १०० स्पोर्टस् म्यानेजमेन्ट प्रालिसँग ६२ लाख रुपैयाँको सम्झौता गरिसकेको जनाएको छ । प्रतियाेगिताका लागि टिकट दर भिआइपीतर्फ ५०० र साधारणतर्फ ३०० रुपैयाँ तोकिएकाे छ  ।

नेपाल र भुटानबीच २१ भदौमा उद्घाटन खेल हुनेछ । राउन्ड रोविनका आधारमा हुने खेल समूह चरणपछि शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल ३ असोजमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस