महिला फुटबल टोली बन्द प्रशिक्षणमा

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, १७ : ३५
महिला फुटबल टोली बन्द प्रशिक्षणमा

काठमाडौं । दक्षिण एशियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा हेरिने महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुँदैछ । त्यसका लागि भुटान र पाकिस्तानी टोली नेपाल आईपुगेका छन् भने केही टोली आउने तालिका नजिकिँदै छ । नेपाली टोली भने घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगितामा उपाधि उचाल्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिएको छ ।

प्रतियोगिता सुरु हुन अब एक हप्ता मात्र बाँकी छ । साफ प्रतियोगिताका लागि अन्तिम टोलीको नाम पनि सार्वजनिक भइसकेको छ । नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पूजा राना चोटका कारण बाहिरिन पुगेका छन् भने रेखा पौडेलले टिममा पुनरागमन गरेकी छिन् ।

नेपाली टोलीलाई नियमिति प्रशिक्षण गराइरहेका प्रशिक्षक कुमार थापाले उपाधिको खडेरी तोड्ने र ट्रफी नेपालमा नै राख्ने गरी तयारी गरेको बताए । पहिलो प्राथमिकता भुटानसँग भएको बाँकी खेलका लागि तत्काल रणनीति तयार गरेर टोली अगाडि बढ्ने प्रशिक्षक थापाले बताउँछन् ।

साफले सार्वजनिक गरिसकेको समूह अन्तर्गत साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान समूह ‘ए’ मा रहेका छन् भने आयोजक नेपाल समूह ‘बी’मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका र भुटान अटाएका छन् । यस संस्करण पाकिस्तान पनि समावेश भएको छ ।

अघिल्लो संस्करणमा प्रतिवन्धका कारण सहभागी हुन नपाएको पाकिस्तानी टोलीले मजबुत प्रदर्शन गर्ने धेरैले अपेक्षा राखेका छन् । टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन् । घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी राम्रो भइरहेको र उपाधि जित्नेमा विश्वस्त भएको नेपाली टोलीका महिला खेलाडीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस