भाजपा नेतृ एवं टिकटक स्टार फोगाटको बलात्कार पछि हत्या भएको आशंका, दुईजना पक्राउ

एजेन्सी

शनिबार, ११ भदौ २०७९, ०७ : ५४
भाजपा नेतृ एवं टिकटक स्टार फोगाटको बलात्कार पछि हत्या भएको आशंका, दुईजना पक्राउ

एजेन्सी । भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। फोगाटको शव परीक्षणका क्रममा उनको शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ।

फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि थिइन्। उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भाजपाको तर्फबाट सन् २०१९ को राज्य विधानसभामा पराजित उम्मेदवार थिइन्।पारिवारिक स्रोतका अनुसार सिसिटिभीद्वारा खिचेको दृष्यमा उनलाई सँगै रहेका दुईमध्ये एक जनाले जबर्जस्ती कुनै नशालु पदार्थ सेवन गराएको देखिएको छ।

पश्चिमी राज्य गोवा भ्रमणका बेला यही अगस्ट २२ गते मृत्यु भएकी फोगाट ४२ वर्षकी थिइन्। प्रारम्भिक रिपोर्टहरूमा उनको हृदयाघातका कारण निधन भएको बताइएको थियो। तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए।

उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप पनि लगाएका छन्। उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरे।

ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए। त्यस्तै, उनले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटिएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप पनि लगाएका छन्।