कम्युनिष्ट पार्टीसँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिवद्ध : कानूनमन्त्री शर्मा

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, २० : ५५
कम्युनिष्ट पार्टीसँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिवद्ध : कानूनमन्त्री शर्मा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल कम्युनिष्ट पार्टीसँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन ।

सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताए । मन्त्री कोइरालाले नेपाल कम्युनिष्ट पार्टीको वार्ता टोलीले सरकारसँग वि सं २०७७ फागुन २० मा सम्झौता गरेको सो अनुसार हालसम्म ५२३ मुद्दाहरु फस्र्यौट भइसकेको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीमाथि कुल ६१० वटा मुद्दा लागेको बताए। उनलेअहिले ८७ वटा मुद्दा फस्र्यौटको क्रममा रहेको बताए।

मन्त्री कोइरालाले ६० जिल्लामा नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दाहरु रहेको उल्लेख गर्दै अदालतमा चलेका मुद्दाहरुमा पनि ११९ मुद्दा फैसला भइसकेको बताए ।

पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह र सरकारबीच भएको तीन बुँदे सहमति पूरा गर्नका लागि कार्यान्वयनमा प्रतिवद्ध रहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयमा ६१० वटा मुद्दाहरु रहेकोमा ५२३ मुद्दा फस्र्यौट भएको र ८७ मुद्दा कार्यविधिगत कानूनी प्रक्रिया बाँकी रहेका कारणले विचाराधिन रहेको बताए। उनले नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित झन्डै १५०÷१५५ को हाराहारीमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी निर्णय गरिसकेको पनि बताए ।

महान्यायाधिवक्ता खातीले ऐन, कानूनले नेगेटिभ लिस्टमा राखेका मुद्दाहरु भने मन्त्रीपरिषद्बाट फिर्ता लिन नमिल्ने बताए । उनले फिर्ता लिने मुद्दाहरुमा ३८ थान मुद्दा गृह मन्त्रालयबाट आएको र महान्यायाधिवक्ताको कार्यालयले त्यसको प्रक्रिया पूरा गरेर गृह हुँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको अवस्था रहेको बताए । ती मुद्दामा क्षतिपूर्तिको माग दाबी भएको कारणले पनि प्रक्रियागत रुपमा अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस