कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, ११ : ४०
कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक

काठमाडौं । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतवार पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कात्तिक २८ गतेदेखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो ।गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले जिन्सी सार्वजनिक गरेको बताए ।

सार्वजनिक विवरणअनुसार गुठीले २७ प्रकारका गहना सार्वजनिक गरेको हो । तीमध्ये ११ थान सुनको तिलहरी, २ थान सुनको सिक्री, ४ टीका, ५ मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, औंठी, सुनकै जन्तर, नाग, तारलगायत छन् । चाँदीतर्फ पनि तिलहरी, घोडा, औंठी, पाउजूजस्ता धेरै गहना मन्दिरमा चढाइएको छ । 

विक्रम संवत् २०७७ सालअघि मन्दिरमा चढेका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउने नियम छ । नियमअनुसार मालपोतमा दाखिला गरेको समेत उनले जानकारी दिए ।‘केही सामग्री पूजाको बेला चाहिने भएर मन्दिरमा थिए, केही प्रभू बैंकको लकरमा राखिएको थियो,’ अध्यक्ष खड्काले भने, ‘सरोकारवालाको समन्वय र छलफलपछि ती गहनालाई के गर्ने भन्ने निर्णयमा पुगिन्छ ।’ कालिकाको पूजा गर्न आउने भक्तजनले फूल प्रसादबाहेक गहना समेत चढाउने गर्छन् । 

मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । हरेक दिनको भेटी बेलुकी सार्वजनिक बोर्डमा लेखेर मात्रै गुठीका पदाधिकारी र कर्मचारी घर फर्कन्छन् । मासिकरूपमा पनि खर्च सार्वजनिक गर्ने चलन छ । गुठीका अनुसार साउन महिनामा मात्रै १३ लाख २९ हजार रुपैयाँ आर्थिक संकलन भएको जनाइएको छ । 

आम्दानीबाट ९ लाख ४४ हजार खर्चेर ३ लाख ८५ हजार बचत भएको देखाइएको छ । साउनमा मन्दिरमा कमाइ कम हुन्छ । खिर खुवाउने कार्यक्रम लगायतको खर्च भने साउनमा बढी हुन्छ । अन्य महिनामा खर्चको तुलनामा आम्दानी बढी हुने गर्छ । 

कार्यक्रममा मालपोत कार्यालयमा कार्यरत कर्मचारीले अहिलेसम्म राखिएका जिन्सी सामानको जानकारी गराएका थिए । मालपोतमा राखिएका सामग्री भने सार्वजनिक भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस