काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब रुपैयाँ घटेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्याङ अनुसार गत असार महिनाको ३२ गतेदेखि साउन ३१ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप घटेको हो ।
गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप साउन ३१ गतेसम्म आइपुग्दा ४४ खर्ब ३३ अर्ब रुपैयाँमा खुम्चिएको संघको तथ्याङमा उल्लेख गरीएको छ । असार ३२ गतेदेखि साउन ६ गतेसम्मको अवधिमा ६३ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । त्यस्तै, साउन ६ गतेदेखि १३ गतेसम्म २८ अर्ब, साउन १३ गतेदेखि २० गतेसम्म ४ अर्ब र साउन २० गतेदेखि २७ गतेसम्मको अवधिमा २५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुको निक्षेप घटेको थियो । साउन लागेयता निरन्तर गिरावटमा आएको निक्षेप अन्तिम साता भने केहि सुधार भएको देखिएको छ । साउन २७ गतेदेखि ३१ गतेसम्मका अवधिमा वाणिज्य बैंकहरुमा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
साउन मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.०७ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ भदौ २०७९, ११ : ३३
लेखकबाट थप