निहारिका राजपुतले अनसन तोडिन, के भयो सहमती ?

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, ०७ : २७
निहारिका राजपुतले अनसन तोडिन, के भयो सहमती ?

काठमाडौँ । निहारिका राजपुतले अनशन तोडेकी छन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले आइतबार अनशन तोडेकी हुन्।

राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि आत्मदहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना गरिएकै बेला उनले अनशन सुरु गरेकी थिइन् ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अनशन तोड्दा उनको मागबमोजिम आरोपी शिवराज श्रेष्ठसँग डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरमा माग गर्ने सहमति भएको छ। उनको मुद्दा अदालतमा विचाराधीन भएकाले अदालतमा सरकारी वकिलले नै यससम्बन्धी माग गर्ने सहमति गरिएको मैनालीले बताए।

जिल्ला प्रहरी कार्यालय धनुषाले ३१ साउनमा श्रेष्ठलाई पक्राउ गरेर अभद्र व्यवहारको कसूरमा अनुसन्धान गरिरहेको छ । उनले निहारिकासँग आफ्नो पहिले सम्बन्ध भए पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका छन्। श्रेष्ठले डीएनए जाँच गरिए त्यसलाई सघाउने बताउँदै आएका छन्। निहारिकाले डीनएन मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने पनि भनेकी छन् ।

सहमतिको दोस्रो बुँदामा डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने भनिएको छ । निहारिकाले डीएनएको जाँच नेपाल प्रहरीको विधि विज्ञान प्रयोयगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा पनि हुनुपर्ने भनेकी छन् ।

निहारिकाले मुद्दाको अन्तिम सुनुवाइसम्म बहसका लागि महान्यायाधिवक्ताको कार्यालयबाट २ जना वरिष्ठ वकिल पठाउने व्यवस्था हुनुपर्ने पनि माग गरेकी छन् । सहमतिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र निहारिकाले हस्तक्षर गरेका छन्। 

प्रतिक्रिया दिनुहोस