काठमाडौं । ‘अहिलेसम्म पशुतुल्य थिएँ, आजदेखि मानव भएँ, नामकै कारण मलाई र मेरा सन्तानलाई अब कसैले पनि होच्याएर बोलाउने छैनन्, गिज्याउने छैनन्, निर्धक्क भएर छोराछोरीले नागरिकताको प्रमाणपत्र बनाएर समाजका सामु देखाउन पाउनेछन्,’ नागरिकतामा लेखिएको ‘कुकुर कामी’का कारण अपहेलित हुँदै आएका कविरामले आइतबार सच्याइएको नागरिकता पाएपछि यसरी खुसी व्यक्त गरे।
‘कुकुर कामी’का कारण कविराम मात्रै अपहेलित भएनन्, उनका सात छोराछोरीले समाजका अगाडि बुवाको नाम उच्चारण गर्न पनि सकेनन्। बुवाको नागरिकतामा लेखिएको नामका आधारमा सातमध्ये तीन सन्तानले मात्रै नागरिकता बनाए। अन्यले बुवाको अपहेलित नामकै कारण नागरिकता बनाएका छैनन्। नागरिकता बनाएका एक छोरी र दुई छोराले पनि सरकारी तथा अन्य कार्यालयमा बुवा र आफ्नो नागरिकता पेस गर्न सकेनन्। कतिसम्म भने माइलो छोरा सन्तरामले त वर्षौंसम्म बुवा र आफ्नो नागरिकता घरभित्रै लुकाएर राखे।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको हातबाट कविराम भनेर सच्याइएको नागरिकता पाउँदा उनको अनुहारमा छुट्टै चमक थियो। ‘विभिन्न जिल्लामा धेरैलाई मैले नागरिकताको प्रमाणपत्र वितरण गरेको छु। कविरामको अनुहारमा देखिएको यो खुसी मेरा लागि सधैं स्मरणयोग्य हुनेछ,’ नागरिकता हस्तान्तरणपछि प्रजिअ प्याकुरेलले भने, ‘नामकै कारण समाजमा अपहेलित धेरैको अनुहारमा खुसी ल्याउन अझै बाँकी छ।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०६ भदौ २०७९, ०७ : २३
लेखकबाट थप