दागबत्ती दिन पाँच लाख माग, शव एकदिन घरमै

पत्रपत्रिकाबाट

आइतबार, २९ साउन २०७९, ०८ : ०८
दागबत्ती दिन पाँच लाख माग, शव एकदिन घरमै

बर्दिबास । बिहेको बेला दाइजोका लागि हुने सौदाबाजीको घटना सामान्यजस्तै लाग्छ। तर यहाँ मृत्युको शोकमा पनि त्यस्तै सौदाबाजी भएको छ। त्यस्तो सौदाबाजी पनि अरूले नभएर छोरा नभएका मृतकका ज्वाईंले गरेका हुन्। मृतकको परिवारले मागेजति रकम दिन नसकेपछि मृतकको अन्त्येष्टि पनि हुन सकेन। दोस्रो दिनमात्र अविवाहित छोरीले दागबत्ती दिएर आफैँ किरिया बसेकी छिन् ।

मानवतालाई नै लज्जित पार्ने यो संवेदनहीन घटना बर्दिबास नगरपालिका वडा नम्बर १४ को हो। छोरा नभएका एक वृद्धको मृत्युपछि दागबत्ती दिन मृतककी जेठी श्रीमतीतर्फका ज्वाईंले नै पाँच लाख माग गरेका थिए। रकम दिन नसक्दा पहिलो दिन दाहसंस्कारै हुन सकेन। शव दिनभर घरमै रह्यो।

लामो समयदेखि पक्षघातले थलिएका ७० वर्षीय फकिरा साह सोनारको साउन २४ गते अपराह्न ४ बजे घरमै मृत्यु भएको थियो। मृतकका दुई श्रीमतीबाट आठ छोरी छन्। जेठी श्रीमती मनतोडियातर्फ पाँच छोरी भए पनि छोराको आसमा फूलोदेवीसँग फकिराको दोस्रो विवाह भएको थियो। कान्छीबाट पनि छोरा भएनन् तीन छोरीमात्र भए। छोरा नभएकै कारण दाहसंस्कारका लागि विवाद सुरु भयो। दागबत्ती पुरुषको हातबाटै दिइनुपर्ने जिरह जातीय सभाले ग¥यो। बर्दिबासस्थित सोनार जातिका ‘मान्यजन’ (जातीय मुखिया) इनरजित साह सोनार हुन् । इनरजित मृतक फकिराकै जेठी श्रीमतीतर्फका साँइली छोरीका श्रीमान् अर्थात् ज्वाईं हुन्। 

इनरजितकै नेतृत्वमा बसेको सभाले मृतककी जेठी श्रीमती (मनतोडिया) तर्फकी जेठी छोरीका छोरा अर्थात् मृतकका नाति शम्भुले दागबत्ती दिने र काजकिरिया उसैले गर्ने निधो ग¥यो। तर यसका लागि मृतककी कान्छी श्रीमतीले दागबत्तीबापत पाँच लाख रुपियाँ दिनुपर्ने उर्दी जारी भयो। “नदिए दाहसंस्कार पनि हुन नदिने र जातबाट पनि निकाल्ने धम्की दिए,” मृतककी कान्छी श्रीमती फूलोदेवीले रुँदै भनिन्, “मैले त्यत्रो पैसा कहाँबाट ल्याएर दिनु ? तैपनि दुई लाखजति दिन्छु त भनेकी थिएँ। मान्दै मानेनन्।”

घटनाको साक्षी बनेका फूलोदेवीका छिमेकी पनि यो कलह देखेर चकित् छन्। छिमेकी सीता नेपाल र गीता श्रेष्ठका अनुसार त्यो रात पैसामा कुरा नमिलेपछि “मलामी पनि जाँदैनौँ, हेरौँ कसरी गर्दा रहेछौ अन्त्येष्टि भनेर ज्वाईंसमेत सबैले छाडेर गए।”

“मान्छे मरेकोभन्दा पनि मानवता मरेको देखेर मृतकको घरमा रुवाबासी भयो,” नेपालले भने, “पैसाका लागि मान्छे यतिसम्म तल झर्न सक्छ भनेर सोचेका पनि थिएनौँ।” असहाय मृतक परिवारले शवको अगाडि रुँदै रात काटे। तर भोलिपल्ट पनि इनरजितले पाँच लाख रुपियाँ नदिए दाहसंस्कार हुन नदिने अडान छाडेनन्। पीडित फूलोदेवीका अनुसार त्यसपछि भने १५ वर्षीया छोरी रूपाले हिम्मत गरिन्। 


“न रुनूस् मम्मी कसैले नगरे मेरो बुबालाई म आफैँ दागबती दिन्छु भनी छोरीले हिम्मत गरी,” उनले पीडा पोखिन्, “त्यसपछि सबै तयारी ग¥यौँ र भोलिपल्ट अपराह्नतिर छोरीहरूले नै शव बोकेर भब्सीखोलामा लगेर दाहसंस्कार भयो।” गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस