काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साथ नदिएको गुनासो गरेका छन् ।बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहेका सांसद देवले निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधन हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुनु, नागरिकतासम्बन्धी ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भए पनि एमालेले साथ नदिएको बताए ।
उनले एमालेलाई सरकार प्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न पनि पटकपटक आग्रह गरे । लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरे ।
उनले भने, ‘सरकारले युगान्तकारी, ऐतिहासिक काम गरेको छ । यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरूले के भन्नु हुन्छ- यो पनि ठीक गरेन । यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौं ? जबकि पार्लियामेन्ट्री डेमोक्रेसीमा प्रतिपक्ष भनेको रचनात्मक प्रतिपक्षको भूमिका हुन्छ । र, हुनुपर्छ । प्रतिपक्ष भनेको डेमोक्रेसीको सुन्दरता हो । तर, त्यो रचनात्मक विपक्ष हुनुपर्दछ । तर अत्यन्त नकारवादको शिकार प्रमुख प्रतिपक्ष भइराखेको छ ।’
सांसद देवले मुख्य राजनीतिक दलहरु अझै पनि एकतावद्ध भएर अघि बढ्नुपर्ने बेलामा एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोपसमेत लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ साउन २०७९, १५ : ३२
लेखकबाट थप