चालु संसद अधिवेशन अझै केही समय चल्छ: कानुनमन्त्री शर्मा

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १९ : ०२
चालु संसद अधिवेशन अझै केही समय चल्छ: कानुनमन्त्री शर्मा

काठमाडौँ ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चालु संसद अधिवेशन अझै केही समय चल्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री शर्माले चालु संसद अधिवेशन केही समय अझै चल्ने बताएका हुन्।

उनले यो संसदले धेरै कानूनहरु बनाउन बाँकी रहेको उल्लेख गर्दै सम्भव भएसम्मका कानूनहरु बनाइने बताए । मन्त्री शर्माले राज्यको विभिन्न क्षेत्रमा अझै पनि सकारात्मक विभेद आवश्यक रहेको बताए।

उनले राजनीतिक क्षेत्रको अलावा लोकसेवा आयोगले समेत सकारात्मक विभेदको व्यवस्था गरेको भन्दै अरु ठाउँहरुमा पनि सकारात्मक विभेद गर्नुपर्ने बताए। उनले भने– ‘कानुन संशोधनको निर्वाचन आयोगले गरिरहेको प्रयासलाई केही कानूनहरु अझै संसदमा ल्याउँछौँ र यो संसद चल्छ । यो संसदले अझै थुप्रै कानुनहरु बनाउन बाँकी छ । यो संसद चल्ने भएको हुनाले सम्भव हुने चिजहरु आयो र त्यसले सुधार गर्ने भयो भने सरकार अहिले पनि त्यसलाई अगाडि बढाउन तयार छ । केही कुरामा सकारात्मक विभेदको स्कोप अहिले पनि छ । जति हामीले राजनीतिक सहभागितामा गरेका छौँ नि । अरु कुरामा सकारात्मक विभेदहरु अरु अरु ठाउँमा पनि शुरु गर्नुपर्छ । अरु ठाउँमा पनि गरिएको छ नगरिएको होइन । तर अहिलेको मोडल रिभ्यु हुन आवश्यक छ ।’

उनले हरेक कानूनहरु लैंगिक समतायुक्त बनाउनुपर्ने बताए। मन्त्री शर्माले महिलाको मर्यादालाई अवमूल्यन गर्ने हानिकारक सामाजिक अभ्यास र कुप्रथाबिरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस