काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएकी छन्।
शुक्रबार काठमाडौँमा गुरु ट्राभल्स लिमिटेडको समुद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन्।
उनले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिइन्। उनले नीजि क्षेत्रले पनि कृषिलाई उद्योगको रूपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकिकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गरिन्।
मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताइन्। उनले भनिन्,‘अब आर्थिक विकास र सामाजिक विकासमार्फत सामाजिक न्यायमा आधारित समाजवादउन्मुख समाज निर्माण गर्ने प्रतिवद्धता हामीले संविधानमै गर्यौँ। अब त्यसको कार्यान्वयन तहमा हामी अगाडि बढेका छौँ। त्यो विकास धेरै तरिकाले हुन्छ। तर आधारभुत कुरा चाहीँ तिनओटा हुन् भन्ने मलाई लाग्छ, एक नम्बर कृषि नै रहेछ।’
यसका साथै उनले नेपालमा भएकाे जलस्राेतकाे उचित ढङ्गले व्यवस्थापन तथा उपयाेग गरेर उर्जा मात्र नभएर कृषि क्षेत्रमा समेत आत्मनिर्भर रहने बताएकी छन्। ‘कृषिप्रधान देश, उर्वरा भूमि छ। जलस्रोतले सम्पन्न छौँ। सिँचाईको मात्रै उचित ढंगले व्यवस्थापन गर्दा र आधुनिक मल, बीउ र यान्त्रिकिकरण गर्दा हामी कृषिमा आत्मनिर्भर हुनसक्छौँ। हिजो निर्यात गर्ने राष्ट्र अहिले हामी आयात गरेर खाने राष्ट्र बनेका छौँ।,’ उनले भनिन्,’हामीले आफ्नो जमिन बाँझो नछोडीकन खेती गर्नुपर्छ। हामीलाई भुकम्पले पनि सिकायो। र कोभिडको महासंकटले पनि हामी टिकिराखेका छौँ। कृषि आधारभुत कुरा हो। बरु यसलाई अझ व्यवसायीकरण, यान्त्रिकरण गर्ने कुरामा हामी सबै लाग्ने कुरा र संस्थागत ढंगले उद्योगी व्यवसायीको छाता संगठनले पनि यो कुरा सोच्नुपर्छ। कृषि पनि उद्योग हो। यसलाई पनि हामी उद्योगको तरिकाले अगाडी बढाउन सक्छौँ भन्ने तरिकाले लाग्न जरुरी छ।’
यसका साथै उनले विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने बताएकी छन्। यसैगरी देशमा धेरैभन्दा धेरै पर्यटक भित्राउन जोड गर्नुपर्ने पनि उनको भनाइ रहेकाे छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, १३ : ००
लेखकबाट थप